महेशकुमार दास
जलेश्वर, माघ २१ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गरी बुधबारदेखि महोत्तरीमा सेना परिचालन गरिएको छ ।
नेपाली सेनाको गोरखनाथ गण परिकौलिबाट महोत्तरीको चार वटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै वेश स्थापना गरी बुधबारदेखि निर्वाचन लक्षित सुरक्षाका लागि सेना परिचालन गरिएको हो ।
महोत्तरीको निर्वाचन क्षेत्र नंं १ को बर्दिवास, क्षेत्र नं. २ को बलबा, क्षेत्र ३ को जलेश्वर र क्षेत्र नं. ४ को रामगोपालपुरमा बेस स्थापना गरी सेना परिचालन गरिएको गोरखनाथ गण परिकौलिका गणपति रामप्रसाद लामिछानेले बताउनुभएको छ ।
“नेपाल प्रहरी र सशस्त्र प्रहरीसगको समन्वयमा बुधबार बिहानैदेखि निर्वाचन लक्षित सुरक्षाका लागि सेना सहितको संयुक्त गस्ती सुरु गरिएको हो ।” गणपत्रि लामिछानेले भन्नुभयो, “अहिले सेनाका जवानले महोत्तरीको सुरक्षा समितिले तोकेको संवेदनशील मतदान स्थलहरूको निरीक्षण अनुगमन सुरु गरेको हो ।”
निरीक्षण अनगुमनको क्रममा मतदान स्थलहरूमा हुने सुरक्षाको थ्रेटको वास्तिविक अवस्था र सुरक्षाको मजबुत प्रबन्ध मिलाएर शान्तिपूर्ण र भयरहित वातवरणमा चुनाव सम्पन्न गराउने योजना सहित खटिएको उहाँले बताउनुभयो ।
अहिले चार वटा निर्वाचन क्षेत्रको चार वटा स्थानमा बेस स्थापना गरी सेना परिचालन गरिएको छ र यसलाई विस्तारै जिल्लाका सबै मतदान स्थलसम्म नै पुर्याइने छ ।
जिल्ला निर्वाचन कार्यालय महोत्तरीले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९२ हजार ९७ महिला र अन्य २ गरी कुल चार लाख ३१ हजार २८२ मतदाता रहेको जनाइएको छ ।
चार निर्वाचन क्षेत्रमा २५८ मतदान स्थल र ५३६ मतदान केन्द्र निर्धारण गरिएको छ । महोत्तरीको १६३ मतदान स्थललाई अति संवेदनशील, ८९ लाई संवेदनशील र ६ लाई सामान्य सुरक्षा अवस्थाको सूचीमा राखिएको छ ।
महोत्तरीको क्षेत्र नम्बर १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ७२२ महिला र अन्य दुई गरी कुल एक लाख पाँच हजार ६४६ मतदाता रहेको र सोका लागि ५९ मतदान स्थल र १२० मतदान केन्द्र व्यवस्था गरिएको छ । क्षेत्र नम्बर २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला गरी कुल एक लाख सात हजार ५९४ मतदाता रहेको र सोका लागि ६२ मतदान स्थल तथा १३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यस्तै, क्षेत्र नम्बर ३ मा ५९ हजार ९५० पुरुष तथा ५० हजार ८८६ महिला गरी कुल एक लाख १० जार ४३६ मतदाता रहेको र सोका लागि ७७ मतदान स्थल र १४२ मतदान केन्द्र राखिएको छ । क्षेत्र नम्बर ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ७५६ महिला गरी कुल एक लाख ७ हजार ६०६ मतदाता रहेकोमा ६० मतदान स्थल १३१ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख रंजिता झाले बताउनुभयो ।