फडिन्द्र अधिकारी
लेखनाथ, माघ २१ गते । जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भारत घर भई हाल पोखरा–२, अर्चलबोट बस्ने वर्ष १८ को राज कुमारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पोखरा–२, भीमसेन टोलमा हतियार लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले सोमबार दुई जनालाई पक्राउ गरेको जानकारी दिने भयो । हतियारसहित पक्राउ पर्नुभएका चौधरी र कुमारलाई मङ्गलबार कास्की जिल्ला अदालतबाट हातहतियार खरखजनासम्बन्धी कसुरमा छ दिन म्याद थप गरी अनुसन्धान जारी रहेको उहाँको भनाइ छ ।
बयानका क्रममा चौधरी र कुमारले गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा हतियार लुटी लगेको स्वीकारेको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय आन्दोलनकारीले नियन्त्रणमा लिएका थिए भने हिरासतका बन्दी र कास्की कारागारका कैदी, बन्दी सबैलाई निकालेका थिए ।