• २१ माघ २०८२, बुधबार

बर्दिबासको चौबाटोमा सत्ता राजनीति : महोत्तरी–१ मा पार्टी होइन, पात्रको परीक्षा

blog

अजय शाह

गौशाला(महोत्तरी), माघ २१ गते । पूर्वी नेपालको प्रवेशद्वार बर्दिबास अहिले केवल यात्रु र व्यापारको चहलपहलले होइन, राष्ट्रिय राजनीतिका तरङ्गले पनि तातेको छ।

महोत्तरी क्षेत्र नम्बर १ सामाजिक र राजनीतिक दृष्टिले नेपालको अत्यन्तै संवेदनशील तथा प्रतिनिधिमूलक निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ।मधेसी, दलित, मुस्लिम, थारु, आदिवासी जनजाति र खस आर्य समुदायको मिश्रित बसोबास रहेको यो क्षेत्र विविधताभित्रको एकताको अभ्यासस्थलजस्तै देखिन्छ। 

फागुन २१ गते हुने निर्वाचन यहाँका दलहरूका लागि जितहारभन्दा बढी राजनीतिक अस्तित्व, वर्चस्व र भविष्यको दिशा तय गर्ने कसी बनेको छ। यस क्षेत्रको चुनावी विशेषता भनेकै पार्टीको झण्डाभन्दा उम्मेदवारको व्यवहार, पहुँच र विश्वसनीयता निर्णायक हुनु हो।

 यही कारण यहाँ पाँच प्रमुख दलका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेसका डा.मुकेशराज काफ्ले, नेकपा (एमाले)का लक्ष्मी महतो कोइरी, नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) का गिरिराजमणि पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोद महतो र जनता समाजवादी पार्टी नेपालका योग नारायण महतो फरक पृष्ठभूमि र राजनीतिक शैलीका प्रतिनिधि हुनुहुन्छ।

नेपाली कम्युनिष्ट पार्टी का उम्मेदवार गिरिराजमणि पोखरेल अनुभवी, बौद्धिक र राष्ट्रियस्तरमा चिनिएका नेता मानिनुहुन्छ। विगतमा तीन पटक निर्वाचन जित्नुभएका उहाँ २०७९ मा पराजित हुनुभयो। यसपटक पाँचौँ प्रयासमा रहँदा पार्टीभित्रकै असन्तुष्टि, सीमित जनसम्पर्क र निरन्तर सत्तामुखी प्रवृत्तिले उहाँलाई चुनौती थपेको विश्लेषण गरिएको छ। 

विकासका ठूला योजना प्रस्तुत गरे पनि कार्यान्वयन कमजोर भएको आरोपले उहाँको राजनीतिक छविमा प्रश्न उठेको देखिन्छ।एमालेका लक्ष्मी महतो कोइरी स्थानीय राजनीतिमा भुइँमान्छेको प्रतिनिधिका रूपमा स्थापित हुनुहुन्छ।

 सहज भेटघाट, सरल स्वभाव र स्थानीय मुद्दामा केन्द्रित राजनीति उहाँका बलिया पक्ष हुन्। तर, अघिल्लो निर्वाचनमा सहयोग गरेको जसपा यसपटक विपक्षमा उभिँदा उहाँको जित सुनिश्चित छैन। 

महतो समुदायको मत विभाजन हुने सम्भावनाले चुनावी समीकरणलाई थप जटिल बनाएको छ।नेपाली कांग्रेसका डा.मुकेशराज काफ्ले प्राज्ञिक र प्राविधिक पृष्ठभूमिका उम्मेदवार हुनुहुन्छ।

 संगठनात्मक कमजोरी र मतदातामाझ अपरिचित अनुहार हुनु चुनौती भए पनि विकास, ऊर्जा र व्यवस्थापनको एजेन्डाले नयाँ मतदाता तान्ने प्रयासमा उहाँ देखिनुहुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोद महतो उम्मेदवारभन्दा बढी ‘घण्टी’ चिन्हको लोकप्रियतामा निर्भर देखिनुहुन्छ। व्यक्तिगत छवि, व्यवसायिक पृष्ठभूमि र कमजोर संगठनले उहाँको सम्भावनामा प्रश्न उठेको छ।जनता समाजवादी पार्टीका योग नारायण महतो युवा र शिक्षित उम्मेदवारका रूपमा उभिनुभएको छ। 

तर, पार्टीभित्रकै अन्तरघात र स्थानीय तहमा स्पष्ट समर्थन नदेखिनुले उहाँको बाटो सहज छैन।यस क्षेत्रका करिब एक लाख पाँच हजार मतदाता जातीय, सांस्कृतिक र सामाजिक रूपमा विविध छन्। 

यही विविधताले यहाँ मौन मत निर्णायक हुने विश्वास गरिएको छ।बर्दिबासका ज्येष्ठ नागरिक टंकहरी अधिकारी भन्नुहुन्छ, “घोषणा धेरै सुन्यौँ, उपलब्धि कम देख्यौँ। अब मतदाताले अनुहार होइन, व्यवहार हेरेर निर्णय गर्छ।” 

नागरिक समाजका अगुवाका अनुसार प्राकृतिक स्रोत दोहन, भ्रष्टाचार र बढ्दो अपराध नियन्त्रण मुख्य मुद्दा बनेका छन्।

अन्ततः महोत्तरी–१ को यो निर्वाचन पार्टीको शक्ति परीक्षण होइन, पात्रको विश्वसनीयताको परीक्षा भएको मतदाताहरु बताउनुहुन्छ।बर्दिबासको चौबाटोबाट उठ्ने जनमत जसतर्फ मोडिन्छ, सिंहदरबारको राजनीतिक बाटो पनि उतैतर्फ खुल्ने निश्चित छ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि यहाँ ५६ हजार २२२ पुरुष, ४९ हजार ४२२ महिला र अन्य दुई जना गरी कुल एक लाख पाँच हजार ६४६ मतदाता कायम हुनु यस क्षेत्रको जनमतको तौल कति महत्वपूर्ण छ भन्ने स्पष्ट संकेत गर्दैछ।

विगतका निर्वाचन परिणामले देखाएअनुसार महोत्तरी–१ मा राजनीतिक विचारधारा, दलगत प्रतिबद्धता वा केन्द्रीय नेतृत्वको प्रभावभन्दा पनि स्थानीय पकड, व्यक्तिगत छवि र समुदायसँगको सम्बन्ध निर्णायक बन्दै आएको छ। 

यही कारण बलिया ठानिएका ठूला दलसमेत स्थानीय आधार कमजोर हुँदा यहाँ पराजित हुनुपरेको देखिएको छ।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनलाई केलाउँदा प्रत्यक्षतर्फ नेकपा (एमाले) का उम्मेदवार लक्ष्मी महतो कोइरीले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा उहाँको पार्टीले समानुपातिकतर्फ भने सूर्य चिन्हमा जम्मा १२ हजार १६७ मत मात्र प्राप्त गरेको थियो। 

यसले मतदाताले पार्टीभन्दा उम्मेदवारलाई प्राथमिकता दिएको देखाउँछ। उता नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गिरिराजमणि पोखरेल प्रत्यक्षमा पराजित भए पनि उहाँको पार्टीले समानुपातिकतर्फ १५ हजार ३९४ मत ल्याएर सबै दलमध्ये अग्रस्थान हासिल गरेको थियो। 

यो तथ्यले माओवादीप्रति दलगत समर्थन बलियो भए पनि उम्मेदवारप्रतिको असन्तोषले नतिजा उल्टिएको विश्लेषण गर्न सकिन्छ।त्यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार पोषण थापाले प्रत्यक्षतर्फ सात हजार ८१२ मत ल्याउँदा कांग्रेसले समानुपातिकतर्फ मात्र चार हजार ७४८ मत पाएको थियो। 

यसले कांग्रेसको संगठनात्मक कमजोरी र आन्तरिक विभाजनले मत विभाजन गराएको देखिन्छ।राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा पनि यस्तै प्रवृत्ति देखिन्छ। प्रत्यक्षतर्फ उम्मेदवारले केवल दुई हजार ६४ मत ल्याए पनि घण्टी चिन्हले समानुपातिकतर्फ ६ हजार १२६ मत पाएको थियो। 

यसले उम्मेदवारभन्दा पार्टीको ‘ब्रान्ड’ प्रतिको आकर्षण बढी रहेको संकेत गर्छ।यस क्षेत्रको अर्को महत्वपूर्ण पक्ष भनेको जातीय तथा सामुदायिक मत बैंक हो।एमालेका लक्ष्मी महतो कोइरीलाई प्रत्यक्षतर्फ जित दिलाउन सहयोग गरेको जसपा नेपालले समानुपातिकतर्फ भने तीन हजार ९७८ मत मात्र पाउनु पनि मतदाताले रणनीतिक रूपमा भोट प्रयोग गरेको उदाहरण मानिन्छ। 

अर्थात्, मतदाताले प्रत्यक्ष र समानुपातिकमा फरक–फरक सन्देश दिएका छन्।यी सबै तथ्यांकले महोत्तरी–१ मा चुनाव पार्टीको शक्ति प्रदर्शन होइन, उम्मेदवारको सामाजिक स्वीकार्यता, पहुँच र विश्वसनीयताको परीक्षा भएको पुष्टि गर्छ। 

यहाँ मतदाता अन्तिम क्षणसम्म मौन रहन्छन् र निर्णायक मत ‘साइलेन्ट भोट’का रूपमा खस्छ। त्यसैले यस क्षेत्रको निर्वाचन परिणाम पूर्वानुमान गर्न सधैं कठिन रहँदै आएको छ, र यही अनिश्चितताले महोत्तरी–१ लाई देशकै चासोको निर्वाचन क्षेत्र बनाएको छ।