• १२ साउन २०८१, शनिबार

बढ्न थाल्यो आयात

blog

काठमाडौँ, असार ८ गते ।  चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिना (जेठ) सम्मको तथ्याङ्क अनुसार नेपालले उक्त अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको वस्तु आयात गरेको छ । 

गत आवको सोही महिनासम्मको तुलनामा आयात १६ प्रतिशतले कम भए पनि पछिल्ला महिनामा भने यो बढ्दो व्रmममा देखिएको हो । जेठमा मात्रै नेपालले एक खर्ब ४५ अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको छ । जुन चालु आवको मासिक आयातमा सबैभन्दा उच्च हो । चैत महिनायता आयात व्यापारमा क्रमशः सुधार देखिन थालेको हो । 

आयात बढ्दा भन्सारमा आधारित राजस्वमा पनि क्रमिक सुधार आउन थालेको छ । जेठसम्म सरकारले आयातबापत तीन खर्ब ४४ अर्ब रुपियाँ भन्सार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिसम्म चार खर्ब ४६ अर्ब रुपियाँ भन्सार राजस्व सङ्कलन भएको थियो । यस हिसाबले एक वर्षकै अन्तरमा करिब एक खर्बले भन्सार राजस्व घटेको छ । 

विभागका अनुसार जेठसम्म नेपालले एक खर्ब ४३ अर्ब रुपियाँको वस्तु आयात गरेको छ, जुन गत जेठसम्मको तुलनामा २२.७४ प्रतिशतले कम हो । आयात र निर्यात दुवै घट्दा मुलुकको व्यापार घाटा पनि कम भएको छ । जेठसम्म नेपालको व्यापार घाटा १५.२१ प्रतिशतले कम भएर १३ खर्ब ३७ अर्ब पुगेको छ । गत आवको जेठसम्म नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपियाँ थियो । 

डिजेल आयातमै बाहिरियो सवा खर्ब

जेठसम्म नेपालले सबैभन्दा धेरै डिजेल आयातमा खर्चिएको छ । विभागका अनुसार डिजेलका लागि समीक्षा अवधिसम्म एक खर्ब ३७ अर्ब ६० करोड रुपियाँ बाहिरिएको छ । त्यसपछि ६१ अर्ब ३८ करोड रुपियाँ पेट्रोल आयातमा बाहिरिएको छ । 

एलपी ग्यासका लागि ५४ अर्ब ३२ करोड रुपियाँ बाहिरिँदा फलामजन्य उत्पादनमा ३९ करोड ८१ करोड रुपियाँ बाहिरिएको छ । नेपालमा ल्याएर प्रशोधन हुँदै आएको कच्चा पाम तेल २१ अर्ब ६४ करोड रुपियाँको आयात भएको छ । 

यस अवधिमा करिब साढे १९ अर्बको पाम तेल निर्यात भएको छ । त्यसपछि आठ अर्ब ४७ करोड रुपियाँको भटमास तेल, सात अर्ब ६८ करोड रुपियाँको अलैँची, छ अर्ब ४१ करोड रुपियाँको गलैँचा, चार अर्ब ३७ करोड रुपियाँको मिश्रित जुस आयात भएको विभागको तथ्याङ्क छ । 

समीक्षा अवधिसम्म नेपालले भारतबाट सबैभन्दा धेरै नौ खर्ब ३७ अर्ब ८३ करोड रुपियाँको वस्तु आयात गरेको छ भने ९८ अर्ब ९७ करोड रुपियाँको वस्तु त्यसतर्फ निर्यात गरेको छ । त्यसपछि चीनबाट दुई खर्ब दुई अर्ब रुपियाँको वस्तु आयात गर्दा एक अर्ब ५२ करोड रुपियाँको मात्र निर्यात गरेको छ ।  संयुक्त राज्य अमेरिकाबाट १७ अर्ब ९१ करोड रुपियाँको वस्तु आयात गर्दा १७ अर्ब ३३ करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।