• ६ जेठ २०८१, आइतबार

अर्थ मन्त्रालयले सुरु गर्‍यो बजेट कार्यान्वयनको पूर्व तयारी

blog

बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवसँग छलफलमा सहभागी अर्थमन्त्री डा. प्रकाशशरण महत ।

काठमाडौं, असार ७ गते । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ । बिहीबार मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवलाई आग्रह गर्नुभयो । 

डा. महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजना बनाएर समय तालिका बनाएर अगाडि बढ्न सचिवलाई निर्देशन दिनुभयो । 

उहाँले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमको कार्यान्वयनमा दृढ भएर तयारी सुरु गर्नसमेत निर्देशन दिनुभयो ।  उहाँले भन्नुभयो, ‘बजेट प्रस्तावमा जे प्रतिबद्धता भएको छ त्यो कार्यान्वयन हुन्छ ।’ 

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र मुख्य सचिव डा. वैकुण्ठ अर्यालले बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिनुभयो । 

बैठकमा अर्थ मन्त्रालयको तर्फबाट चालु र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा भएको प्रस्तुति उपर मन्त्रालयका सचिवले आ–आफ्नो धारणा राख्नुभएको थियो ।