• ६ जेठ २०८१, आइतबार

दुई वर्षमा शतप्रतिशत विद्युत विस्तार गर्छौँ : मन्त्री बस्नेत

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार ७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्रमा शतप्रतिशत विद्युत बिस्तार गर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो ।

कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशमा यसै वर्ष नै शतप्रतिशत विद्युतीकरणको काम पूरा गर्नेगरी बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो । वर्षायाममा विद्युत आपूर्तिलाई सहज बनाउन एक महिनाभित्रमा दुई वटा ट्रान्समिसन लाइन थपिने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘केमा हामी केन्द्रित भइरहेका छौँ भने आगामी दुई वर्षभित्रमा शतप्रतिशत विद्युत विस्तार गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेका छौँ । त्यो आधारमा कर्णाली र सुदूरपश्चिम बाहेकका सबै प्रदेशलाई यही वर्ष नै शतप्रतिशत विद्युतिकरणको काम पूरा गर्नेगरी बजेट विनियोजन गर्छौँ ।’ 

एक महिना भित्रमा दुईवटा ट्रान्समिसन लाइन थप्ने काममा मेहनत साथ काम भइरहेको मन्त्री बस्नेतले बताउनुभयो । विद्युत उत्पादन, व्यापार, पूर्वाधार निर्माण, ट्रान्समिसन निर्माण र डिस्ट्रिब्युसन सिस्टमलाई अपग्रेड गर्ने कामलाई एकीकृत रूपमा गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।