• २० असोज २०८१, आइतबार

श्रमदानमार्फत काठेपुल निर्माण

blog

श्रमदानमार्फत सिस्ने खोलामा निर्माण गरिएको काठेपुल।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ७ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकाको सिमानास्थित सिस्ने खोलामा श्रमदानमार्फत काठेपुल निर्माण गरिएको छ। फक्ताङ्लुङ गाउँपालिकाको सक्रियतामा छ। दिनसम्म श्रमदान गरेर सवारी साधन (गाडी) सञ्चालन हुने काठेपुल निर्माण गरिएको हो।

तमोर कोरिडोरअन्तर्गत पर्ने फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम र फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको सिमाना भई बग्ने सिस्ने खोलामा काठेपुल निर्माण भएसँगै यातायातका साधान सञ्चालन हुन थालेको बताइएको छ। फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार गाउँपालिकाको एक्साभेटरसहित निरन्तर छ दिन श्रमदान गरेर काठेपुल निर्माण गरिएको हो।

काठेपुल निर्माण भएपछि फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक–सिँवाबजार–सदरमुकाम फुङ्लिङमा यातायात सञ्चालन हुन थालेको छ। त्यस्तै पुल निर्माणपछि सातवटा वडा रहेको सिङ्गो फक्ताङ्लुङ गाउँपालिकावासीलाई नै राहत पुगेको छ। यहाँका यात्रुलाई यात्रा गर्न तथा खाद्यान्न लगायतका सामग्री ढुवानी गर्नमा सहज भएको बताइएको छ।

पुल निर्माणका लागि श्रमदान गर्नमा गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधि, लिङ्खिम, फुरुम्बुलगायत वडाका सर्वसाधारण सहभागी बनेका थिए। बर्खा मौसमसँगै सिस्ने खोलामा यसअघि रहेको पुरानो काठेपुल खोलामा आएको बाढीले बगाएको थियो।