तिलाचन पाण्डे
तम्घास, असार ७ गते । चन्द्रकोट गाउँपालिकाले गाउँपालिका लिफटिङ प्रविधिबाट सञ्चालन भएका खानेपानी समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको छ। आर्थिक वर्ष २०८०/०८१ का लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष युवराज केशीले पालिकाभित्र रहेका लिफटिङ खानेपानी उपभोक्ता समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको बताउनुभयो ।
यस्तै, पालिकाभित्र मातृत्व र पितृत्व पहिचान नभएका अभिभावक विहीन बालबालिकालाई आवासीय अध्ययनको व्यवस्था गर्ने नीतिलाई प्राथमिकताका साथ राख्ने नीति लिइएको केशीले बताउनुभयो। पालिकाले गाउँपालिका वासीहरूको नागरिकको सरकारी सेवा तथा सुरक्षा निकायमा पहुँच अभिवृद्धि गर्नका लागि लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्ने छ । विद्यालयमा स्वास्थ्यकर्मी भन्ने मूल नाराका साथ प्रत्येक महिनाको एक पटक विद्यालयका विद्यार्थी तथा शिक्षक, कर्मचारीहरूको स्वास्थ्य परीक्षण गर्ने नीति लिएको केशीले बताउनुभयो ।
विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याई सीपमूलक कृषि उद्यमी र आत्म निर्भर हुने नीति अवलम्बन गर्ने नीति लिइएको छ । विद्यालय, स्वास्थ्यचौकी तथा वडा र पालिकामा समेत विद्युतीय हाजिरीमार्फत उपस्थिति नियमन गर्ने कार्यलाई व्यवस्थित गर्ने नीति लिएको केसीको भनाइ छ ।
७० वर्ष कटेका ज्येष्ठ नागरिकहरूको घरदैलोमै प्रत्येक महिना सुगर, प्रेसर लगायतका आधारभूत स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने पालिकाले जनाएको छ ।
सडकतर्फ नयाँ बाटोको ट्रयाक खोल्नुअघि पूर्वाधार विकास समितिको स्थलगत अनुगमन गरी सिफारिस लिनुपर्ने व्यवस्था गर्नुपर्ने नीति पालिकाले लिएको छ । यस्तै, एक वडा एक पोखरी निर्माण कार्यलाई पनि पालिकाले प्राथमिकताका साथ राखेको छ ।