जो मानिस जनप्रतिनिधि हुन्छ, उसमा आत्मविश्वास, धैर्य, इमानदारी, प्रतिबद्धता, जिम्मेवारी निर्वाह गर्ने कला र दक्षता, दूरदर्शिता, निर्णय क्षमता, स्वच्छता, निष्पक्षता र जनताका समस्या पहिचान र आत्मसात् गर्ने विवेक जस्ता न्यूनतम गुण आवश्यक हुन्छन् । सर्वप्रथम नेताले समस्या पहिचानपछि समस्या समाधानको गन्तव्य निर्धारणको योजना बुन्छ । त्यस अनुसारको सहयात्राका लागि सहयोगीलाई बाटो देखाउने र उत्प्रेरित गर्ने काम गर्छ । आफ्ना सबै राम्रा र नराम्रा कामको निर्मम मूल्याङ्कन गर्छ र निःसङ्कोच जवाफदेहीसमेत लिन्छ । व्यक्तिगत लालचा शून्यमा झार्दै सधैँ इमानदार बन्ने अभ्यास गर्छ । उच्च मनोबल र नैतिक मूल्यप्रति कहिल्यै सम्झौता गर्दैन ।
उसले आफूलाई वक्तामा मात्रै सीमित राख्दैन, आफूमा असल श्रोताका गुण पनि विकास गर्छ । नेतृत्व यस्तो क्षमता हो; जहाँ कुनै व्यक्ति सामाजिक प्रभावद्वारा अन्य व्यक्ति वा समूहको सहायता लिएर साझा लक्ष्य पूरा गर्न दृढ सङ्कल्पित हुन्छ । एउटा इमानदार र असल नेताले समाजका लागि यस्तो मार्ग निर्धारण गर्दछ कि जसमा सबैको योगदानका आधारमा असाधारण काम सम्पन्न गर्न सक्छ । व्यक्तिसँग संवाद गर्ने, उनीहरूलाई आश्वस्त पार्ने, प्रभाव पार्ने र समूहलाई नेतृत्व गर्ने क्षमतालाई जसले कुशलतापूर्वक निर्वाह गर्न सक्छ, त्यो नै नेता हो । नेता कुनै पेसा वा व्यवसाय हैन, योग्यता र कार्यक्षमता हो । नेतृत्वका माध्यमले कुनै एक व्यक्तिले आफ्नो समूहलाई साथमा लिएर निर्धारित लक्ष्य प्राप्तिका लागि समूहलाई एकजुट बनाउँछ, निर्धारित लक्ष्यसम्म पुग्छ भने त्यो नेता हो ।
जनप्रतिनिधि जनताप्रति जवाफदेही भयो भने उसले जनताको पक्षमा नयाँ नयाँ सेवा सुविधाको सुरुवात गर्न सक्छ । यसका लागि जनप्रतिनिधिमा इच्छाशक्ति र सपना भने हुनै पर्छ । संसारका अन्य देशमा जनतालाई के कस्ता सुविधा दिइएको छ भन्ने जानकारी लिन जनप्रतिनिधिले इच्छा व्यक्त ग¥यो भने उसलाई हामीले जनताको पक्षमा सिन्को पनि भाँचेका छैनौँ भन्ने अनुभूति रहेछ भन्ने हुन्छ । त्यो अनुभूति गर्ने जनप्रतिनिधिले जनताको पक्षमा काम गर्ने दृष्टिकोण विकास गर्छ । नेपालमा जनप्रतिनिधिप्रति आमजनताको दृष्टिकोण सकारात्मक हुन सकेको छैन । खास गरी पार्टीहरूबाट जनप्रतिनिधि हुने सबै जनप्रतिनिधि जनताको दृष्टिमा गिरेका छन् । त्यसको एक मात्र कारण हो – उनीहरू आफू र आफ्नो परिवारको हितमा समर्पित छन् । भ्रष्टाचार र कुशासनको मुख्य कारण नै जनप्रतिनिधिमा भएको व्यक्तिगत लाभ हो । अझ स्पष्ट भन्नुपर्दा उनीहरूभित्र अन्तरनिहित स्वार्थान्धता हो । व्यक्तिगत लाभलाई तिलाञ्जली दिने जनप्रतिनिधिले अहिले पनि जनताको पक्षमा काम गर्न सक्छ भन्ने उदाहरण हुन्, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह ।
अपत्यारिलो अवस्थामा मेयर शाहले स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा विजय प्राप्त गरेर नेपालका मै हुँ भन्ने पार्टीका उम्मेदवार र तिनका नेतालाई जिल्ल्याइदिए । यो निर्वाचनको परिणाम नेपालको निर्वाचन इतिहासमा नै नौलो र अप्रत्याशित हो । शाह वर्तमान पार्टीहरूबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिभन्दा भिन्न किन छन् भने उनले जनतालाई कसरी सेवा प्रदान गर्न सकिन्छ भन्ने चिन्तन गर्छन् । त्यसलाई कार्यान्वयन गर्ने प्रयास पनि गर्दछन् । उनी अनुभवी छैनन् तर परिपक्वता काम र व्यवहारबाट हासिल गर्ने प्रयत्नमा छन् । उनमा जनतालाई कसरी बढीभन्दा बढी सेवा सुविधा दिन सकिन्छ भन्ने हुटहुटी छ ।
त्यो हुटहुटीले उनलाई पक्कै पनि गन्तव्यमा पु-याउँछ । उनी पार्टी राजनीतिका दृष्टिकोणले एक्लै छन् तर जनपक्षीय काममा तल्लीन बालेनलाई जनताको पक्षमा काम गर्ने पार्टीबाट निर्वाचित जनप्रतिनिधिको पनि समर्थन देखिन्छ । बालेनको दृष्टिकोणले उनका कार्यक्रमप्रति आमजनताको समर्थन जुटेको हो न कि उनलाई व्यक्तिगत माया गरेर । बालेन अहिलेसम्म भ्रष्टाचारमा संलग्न भएको विषयमा चर्चा नभएकाले उनी अहिलेसम्मका दुर्लभ मानिने जनप्रतिनिधिभित्र पर्छन् । अहिलेको सन्दर्भमा जनप्रतिनिधि र भ्रष्टाचार पर्यायवाची शब्द भएको अवस्थामा बालेन अहिलेसम्म अपवादभित्रका जनप्रतिनिधि हुन् ।
तिनै बालेनद्वारा जनताको पक्षमा गरिएका फरक तर जनपक्षीय उदाहरणीय कामले पङ्क्तिकारलाई पनि आकर्षित ग-यो । त्यो विषय हो – महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर । मैले सामाजिक सञ्जालमा महिला तथा स्त्रीरोग विशेषज्ञ डा. सुनिता लम्सालको नेपाल टेलिभिजनमा प्रसारित पाठेघरको मुखको क्यान्सर, त्यसले स्वास्थ्यमा पार्ने दीर्घकालीन प्रभावसम्बन्धी अन्तर्वार्ता सुनेको थिएँ । अन्तर्वार्ताले समस्याको जानकारी मात्रै भएन, उहाँका अभिव्यक्तिले त्यो परीक्षण गर्न मलाई पनि उत्प्रेरित ग-यो । उत्प्रेरणाका लागि डा. लम्साललाई देशैभरका महिला दिदीबहिनीको तर्फबाट हार्दिक धन्यवाद दिन्छु । सामान्य परीक्षणले क्यान्सर जस्तो प्राणघातक रोगबाट बच्न र बचाउन सकिने प्रयास गर्ने काठमाडौँ महानगरपालिकाका मेयरको दीर्घकालीन सोचलाई सबैले मुक्तकण्ठले प्रशंसा गर्नु पर्छ ।
डा. लम्सालको अन्तर्वार्तामा व्यक्त अवधारणा सूचनाका विषयवस्तुले मलाई पनि परीक्षण गर्न र अन्य दिदीबहिनीलाई समेत सुसूचित गर्ने कर्तव्य बोध भयो । देशको राजधानीका महिला पनि यसबारे सुसूचित नभएको अवस्था देशका दुर्गममा महिला कति जोखिममा होलान् भन्ने विषयले मनमा पीडा अनुभूति भयो । अहिलेसम्म नेपाल सरकारले नगरेको काम महिलाका पक्षमा काठमाडौँ महानगरपालिकाबाट भएकाले पनि हुन सक्छ, मलाई त्यो सूचनाले विशेष आकर्षित ग¥यो । शिविरको गतिविधिको थप अध्ययन गर्न मन लाग्यो ।
त्यो अध्ययनका व्रmममा म आफैँले पनि परीक्षण गर्ने निधो गरेँ । परीक्षणको मुख्य उद्देश्य हो – शिविरको सेवाको गुणस्तर सेवाग्राहीको मनोविज्ञान र सेवाग्राहीको दृष्टिकोण जान्ने बुझ्ने सल्लाहसमेत दिन सकिन्छ भनेर म आफैँले पनि उक्त पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने उक्त शिविरबाट सञ्चालित सेवा लिने निधो गरेँ । २०८० जेठ ३० र ३१ गते सञ्चालनमा रहेको सो शिविर काठमाडौँको डिल्लीबजारस्थित पद्मकन्या स्कुलमा सञ्चालन भएको थियोे । सो शिविरमा नै सेवा लिने र महिला दिदीबहिनीको सहभागिता समेतलाई कार्यक्षेत्रमा नै हेर्ने र सेवाको मूल्याङ्कनसमेत गर्ने ध्येयले म सो सेवन लिन गएको हुँ ।
मलाई आर्थिक कारणले त्यो सेवा लिन जरुरी थिएन तर सरकारका सेवा उच्चपदस्थ र धनाढ्यले नलिँदा शिविरहरू गुणस्तरीय नहुने रोगको उपचारसमेत हुने ध्येयले म सरकारी अस्पतालमा नै सेवा लिने गर्दछु । सरकारी सेवा गुणस्तरीय नहुनुको प्रमुख कारण नै उच्चपदस्थ र धनाढ्यले त्यो सेवा लिँदा आफ्नो हैसियत नै घट्छ भन्ने दृष्टिकोण नै जिम्मेवार छ । सबैले सरकारबाट प्रदान गर्ने यस्ता सेवा सबैले लिँदा सेवा प्रदायक व्यक्ति पनि सतर्क हुने अवस्थाले सेवा गुणस्तरीय बनाउने प्रयत्नसमेत हुन सक्छ भनेर म सकेसम्म सरकारी अस्पतालको सेवा नै लिने गर्छु । सरकारी अस्पतालको सेवालाई जनताले निगरानी नगर्दा नै सेवा गुणस्तरहीन भएका हुन् ।
यस प्रकारका स्वास्थ्य शिविर काठमाडौँमा मात्र सञ्चालन नभएर देशका दुर्गम क्षेत्रमा पनि त्यहाँका जनप्रतिनिधिले बालेनको सिको गरे त्यस क्षेत्रका महिला दिदीबहिनी, जसलाई यस्ता पाठेघरको मुखको क्यान्सरको विषयमा थाहा नै नपाई एकै चोटि मृत्युको मुखमा पुग्छन्, तिनीहरूले यस्तो शिविरबाट आफ्नो रोगका बारेमा समयमै थाहा पाएमा क्यान्सर रोगबाट मुक्ति पाउने थिए । जसलाई क्यान्सर जस्तो रोग भन्ने पनि थाहा छैन, त्यस्ता धेरै आमा, दिदीबहिनीको ज्यान बचाउन सकिन्थ्यो । धनजनको नाश हुनबाट गरिब जनता बच्ने थिए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिभन्दा स्वतन्त्र उम्मेदवार भएर आएका प्रतिनिधि ठिक देखिएका छन् । यसले गर्दा हामी आमजनताले सोच्नुपर्ने बेला पनि आउँदै छ । पार्टीका जनप्रतिनिधिभन्दा स्वतन्त्र प्रतिनिधि बढी जनतामुखी भएको देखियो ।
यस्ता शिविरमा हामी उच्चपदस्थ र धनाढ्य जान हुँदैन भन्ने मानसिकताबाट बाहिर आएर शिविरमा गएर सेवा लिने गरिदिँदा त्यहाँ खटिएका डाक्टर, कर्मचारी सबैको मनोबल उच्च हुन्छ । किनकि अहो हाम्रो सेवा राम्रो मानेर जति खर्च गरेर भए पनि सुविधासम्पन्न अस्पतालमा सेवा लिन सक्ने हैसियत हुँदा पनि हाम्रो विश्वास मानेर शिविरमा सेवा लिन आउनु भयो भनेर त्यहाँ खटिएका डाक्टर, कर्मचारी अझ बढी सचेत हुने थिए । हाम्रो समाजमा त जति ठुलो अस्पताल भयो, जति महँगो फिस लियो त्यति नै आफूलाई गौरवान्वित ठान्ने प्रचलनले गर्दा शिविरमा गरिवहरू मात्रै जानु पर्छ, उच्चपदस्थ धनाढ्य यस्ता शिविरमा जाने होइन भन्ने कुसंस्कारको विकास भएको पाइन्छ ।
ठुला ठुला अस्पतालमा मात्र राम्रो उपचार हुन्छ भन्ने हाम्रो समाजको सोचाइ साह्रै गरिब छ । यिनै बढेमानका भवनभित्रका अस्पतालमा कस्ता डाक्टर छन् भनेर समय समयमा पत्रिकामा पढ्न पाइएकै हुन्छ । फेरि निजी अस्पतालमा डिग्री भए पुग्छ, त्यहाँ जागिर खान कुनै परीक्षा पास गर्न पर्दैन तर सरकारी अस्पतालमा लोक सेवा पास नगरी कुनै डाक्टरले जागिर पाउँदैन । ठुलो प्रतिस्पर्धामा परीक्षा पास गरेका डाक्टर मात्र त्यहाँ हुन्छन् । त्यस्ता शिविरमा उपचार पनि राम्रो हुन्छ भन्ने विश्वास र मान्यता हो ।
त्यस कारण नेपाल सरकारले पनि बेलाबेलामा पहुँच नभएका जनताका लागि यस्ता शिविर सञ्चालन गर्न जरुरी छ । डा. लम्सालले काठमाडौँ महानगरपालिकाभित्र परीक्षण गर्दा महिलामा क्यान्सर रोगको स्थिति अलि गम्भीर देखिएको छ । काठमाडौँ जस्तो सुविधासम्पन्न ठाउँमा बस्ने महिलाको त चिन्ताजनक स्थिति छ भने काठमाडौँबाहिर दुर्गम स्थानमा बस्ने आमा, दिदीबहिनीको अवस्था के होला भन्ने चिन्ता पनि व्यक्त गर्नुभयो । हो, राजधानीमा बस्ने सचेत महिलाको त यस्तो अवस्था छ भने अनपढ र दूरदराजमा बस्ने स्वास्थ्य सुविधा नभएका ठाउँमा बस्ने महिलाको अवस्था कति भयावह होला ? त्यस कारण यस्ता पहुँच नभएका जनताका लागि पनि नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर, छातीको क्यान्सर जस्ता रोगको निःशुल्क शिविर चलाएर जनतालाई अभिभावकत्व महसुस गराउन जरुरी छ ।
लेखक पूर्वराजदूत हुनुहुन्छ ।