• १४ मंसिर २०८१, शुक्रबार

बालबालिका तथा महिला हिंसाविरुद्धको सचेतनामूलक कार्यक्रम

blog

सचेतनामूलक कार्यक्रमका सहभागीहरु । तस्विर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, असार ६ गते । जिल्ला प्रहरी कार्यालय दोलखा र हुराडेक नेपालको संयुक्त आयोजनामा भएको एक दिवसीय बालबालिका तथा महिला हिंसाविरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको सहभागितामा कालिञ्चोक गाउँपालिका–८ कालिनाग माध्यमिक विद्यालयमा भएको सो कार्यक्रममा हुराडेक नेपालका निर्देशक सुन्दर लामिछानेले बालअधिकार र संरक्षणका बारेमा जानकारी गराउनुभएको हो ।

बालबालिकालाई आज दिएको संरक्षणले भोलि हाम्रो संरक्षण हुनसक्ने जानकारी दिनुहुँदै निर्देशक लामिछानेले विद्यार्थी समाजका संवाहक भएकाले छरछिमेकमा बालबालिका तथा महिला हिंसाविरुद्धको सचेतनामूलक सन्देश पुर्‍याउन आग्रह गर्नुभयो । 

त्यसैगरी जिल्ला प्रहरी कार्यालयकी वरिष्ठ नायब निरीक्षक दाक्षेकी शेर्पाले यौनजन्य हिंसा तथा यौन दुर्व्यवहारका बारेमा जानकारी गराउनु भयो । उहाँले यौन दुर्व्यवहारलाई सघाउने सामाजिक सञ्जालकाबारे स्पष्ट पार्दै भन्नुभयो, “सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेमा विद्युतीय कारोबार ऐनले एक लाख रुपियाँ जरिवाना र पाँच वर्ष कैद सजाय हुनेछ । अहिले प्रचलित रहेको सामाजिक सञ्जालका हनिट्रयापलगायतबाट बच्न आग्रह गर्दछु ।” 

यौनजन्य हिंसाबारे थप जिज्ञासा राखी सहभागी विद्यार्थीहरूले कानुनी प्रावधान र दण्ड सजाय सम्बन्धमा जानकारी लिएका छन् । 

त्यस्तै, न्यायिक समिति संयोजक एवम् कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले सबैका हातहातमा भएका मोबाइल चलाउँदा विद्यार्थीले पढाई सम्बन्धी अभिभावकले बालबालिका संरक्षण तथा घर व्यवहारसम्बन्धी र शिक्षकले शिक्षणलाई सघाउने ज्ञान मात्र प्राप्त गर्न आग्रह गर्नुभयो ।