• १२ साउन २०८१, शनिबार

पोखरा विमानस्थल नियमित सञ्चालनका लागि पहल गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

blog

चीनको भ्रमण सम्पन्न गरी स्वदेश फर्किनु भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै । तस्बिर : कृष्ण दवाडी/रासस

काठमाडौं, असार ६ गते । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरूले जागरूकता देखाउनुपर्ने बताउनुभएको छ ।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उडान नियमित रूपमा गर्नसकेमात्रै पर्यटन प्रवर्द्धन हुने बताउनुभयो । उहाँले आजको खुसीयालीलाई नियमित रूपमा कायम राख्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रीय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरूले साझा प्रयत्न गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीहरूले कान ढालेर बसेर विमानस्थल सञ्चालन हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले भारतसँग जमिनको खुला सिमाना भएजस्तै आकाशमा पनि खुला सिमाना बनाउनेतर्फ सोच्नुपर्ने बताउनुभयो । उहाँले आकाश खुला भए आवतजावतमा पनि सहज हुने जानकारी दिनुभयो । उहाँले कुनैपनि देशका हवाई कम्पनीहरू फाइदा बिना उडान नभर्ने भन्दै पर्यटन पूर्वाधार विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

‘‘अब धेरै तयारी गरेर यो उडानलाई नियमित गर्नुछ । आज उद्घाटन भएको ६ महिनापछि एउटा अन्तर्राष्ट्रिय उडान आउने चार्टड गरेर अर्को ६ महिनामा अर्को चार्टड उडान आउने भयो भने केही अर्थ हुँदैन । आजको खुसीयाली धेरै टिक्दैन । यो खुसीयालीलाई सधैँ कायम राख्नको लागि सबै पक्षले पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रीय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरूले सबैले पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकारीहरूले सबैले साझा प्रयत्न गरौँ ।,’’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘‘कान ढालेर बसेर हुँदैन । हामीले चीनबाट, बाहिरबाट विमान ल्याइदिनुस् भनेर मात्रै हुँदैन । पहिलो कुरा जसरी भारतसँग हाम्रो खुला सिमाना छ । खुला सिमानामा आवतजावत गरेका छौँ । आकाश पनि त्यत्तिकै खुला र निर्बाध ढङ्गले आवतजावत भइदियो भने अरू विमानहरू आउने रुटहरू खुला हुन्छ । त्यसतिर हाम्रो ध्यान जानुपर्छ । कुनैपनि देशका कुनैपनि कम्पनीका एयरलाइन्सहरू घाटामा उडिरहँदैनन् । उसलाई नाफा हुनुपर्छ । त्यसका लागि हामीले पर्यटन पूर्वाधार निर्माण गर्नुपर्छ ।’’

नेपाल चीन जोड्ने कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसकेपनि नेपालले भने अहिलेसम्म कुनै चासो नदेखाएको बताउनुभयो ।