• १० मंसिर २०८१, सोमबार

पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्छ : राजदूत श्रीवास्तव

blog

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव ।

काठमाडौं, असार ६ गते । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राजदूत श्रीवास्तवले यस्तो बताउनुभएको हो । उहाँले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा हवाई रुटका माध्यमबाट जोड्दै जान सकिने बताउनुभयो ।

पोखरा प्राकृतिक सौन्दर्यताका हिसाबले उत्कृष्ट स्थान रहेको भन्दै पोखराले भारतका पर्यटकहरू तानेको उहाँको भनाइ छ । राजदूतले भारतका विभिन्न सहरका पर्यटकहरू पोखरामा आइरहेको उल्लेख गर्नुहुँदै पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नका लागि भारत सरकार सहयोगका लागि तयार रहेको बताउनुभयो ।

‘‘पर्यटनको हिसाबले हेर्ने हो भने पोखरा एकदमै राम्रो स्थान छ । भारतबाट विभिन्न सहरका मानिस पोखरा आउने गर्दछन् । हरेक वर्ष पोखरामा योग दिवस मनाउने हो भने पोखरा योगा केन्द्र बन्नेछ ।,’’ राजदूत श्रीवास्तवले भन्नुभयो, ‘‘यसका लागि भारतीय दूतावास मिलेर काम गर्न तयार छ । भारतका विभिन्न प्रदेश र सहरबाट मानिसहरू अहिले पनि पोखरा आउँछन् । नयाँ सडकको माध्यमबाट भारत पोखरासँग जोडिन्छ ।’’

राजदूत श्रीवास्तवले पोखरामा हरेक वर्ष योग दिवसका अवसरमा योगा कार्यक्रम हुने आशा राखेको बताउनुभयो ।