• ११ असोज २०८१, शुक्रबार

आयातसँगै घट्यो प्याजको भाउ

blog

काठमाडौँ, असार ६ गते । मुलुकमा प्याज आयात हुन थालेसँगै भाउ ह्वात्तै घटेर त्यसको सकारात्मक प्रभाव देशकै ठुलो तरकारी बजार कालीमाटीमा देखिएको छ । तरकारी आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागेको भनेर प्याज आयात गर्न छोडेका व्यवसायीले आयात गर्न थालेसँगै मूल्य घटेको हो । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार जेठको २१ गतेदेखि आयात रोकेका व्यवसायीले कालीमाटीमा सोमबारदेखि प्याज आयात गर्न थालेका छन् । 

समितिले प्याजको भाउ सोमबार प्रतिकेजी ५२ रुपियाँ र मङ्गलबार ५३ रुपियाँमा थोक मूल्य तोकेको छ । जेठ १९ गतेसम्म प्रतिकेजी ३५ रुपियाँ थोकमा कारोबार भएको प्याज आयात रोकेपछि १३० रुपियाँसम्म पुगेको थियो । 

आयात भएसँगै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारदेखि नै दैनिक मूल्य सूचीमा प्याज पनि समावेश गरेको छ । प्याजको मूल्य प्रतिकेजी ५१ रुपियाँ तोकेको छ । यसअघि भ्याट लागेका कारण कालीमाटी बजारमै प्याजको मूल्य ९५ रुपियाँसम्म पुगेको थियो । 

जेठ २० गतेदेखि प्याजको आयात ठप्प भएको थियो । व्यवसायीले आयात महँगो हुने भन्दै आयात गर्न छोडेका थिए । व्यापारीले प्याजको मौज्दात सकिएको भनेपछि जेठ २१ देखि असार ३ सम्म प्याजको मूल्य सूचीमा समावेश गरेको थिएन । भारतबाट प्याज नआउँदा केही परिमाणमा स्वदेशी प्याज बजारमा आएको थियो । 

देशकै ठुलो तरकारी बजारमा प्याजको मौज्दात सकिएको भन्दै खुद्रा व्यापारीले प्याजको मूल्य अत्यधिक बढाएर प्रतिकेजी १३० रुपियाँसम्म पु-याएका थिए । व्यवसायीले पुनः आयात गर्न थालेपछि प्याजको मूल्य पुरानो कायम भएको छ । कालीमाटी तरकारी बजारमा सामान्य अवस्थामा दैनिक एक सय टनभन्दा बढी प्याजको आयात हुने गरेको समितिले जनाएको छ । 

समितिका अनुसार सोमबार र मङ्गलबार भने क्रमशः ५६ र मङ्गलबार दिउँसोसम्म ५० टनको हाराहारीमा आएको छ ।