राममणि दाहाल
हेटौँडा, असार ५ गते । कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका -८ गँगटेस्थित सडकखण्डमा कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बि ए सी -०५३७ नम्बरको कार मङ्गलबार दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी तीन सय मिटर तल खोचमा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी टोलीले उक्त कारमा सवार भीमफेदी गाउँपालिका -५ का ४५ वर्षीय राजकुमार बललाई उद्धार गरी उपचारको लागि हेटौँडा पठाएको छ । छातीमा चोट लागेका बललाई दुर्घटनास्थलमा अड्किएको अवस्थामा उद्धार गरिएको हो ।
घाइते बलका अनुसार कार चालक हेटौँडा उपमहानगरपालिका -३ स्थित बसामाडीका ३० वर्षीय विवेक लामा हुनुहुन्छ । यस्तै, लामाको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।