लीलाधर वली
घोराही, असार ५ गते । दाङमा नातिलाई छोरा बनाएर नागरिकता बनाइदिने हजुरबुवासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजपुर गाउँपालिका–५, सिमलखुट्टी निवासी ज्ञानबहादुर विकले आफ्ना नाति विवेक विकलाई नागरिकता बनाइदिएको उजुरी परेपछि हजुरबुवासहित साक्षी बस्नेहरूलाई समेत प्रहरी अनुसन्धानका लागि पक्राउ गरेको छ ।
ज्ञानबहादुर विकले छोरीको छोरा विवेकलाई नागरिकता बनाइदिनुभएको थियो । विवेकका बुवा द्वन्द्वकालमा बेपत्ता हुनुभएको थियो । छोरी अरूसँग बिहे गरेर भारत गएपछि नातिको नागरिकता बनाउन कठिन भयो । त्यही भएर ज्ञानबहादुरले गएको वैशाख २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट बुवाको नाम थरमा हजुरबुवा नाता पर्ने ज्ञानबहादुर विश्वकर्मा र आमाको नाम थरमा हजुरआमा जोगिनी विश्वकर्माको नाम राखेर नागरिकता बनाइदिनुभएको थियो ।
हजुरबुवा र हजुरआमालाई बुवा–आमा बनाएर नागरिकता जारी भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार पक्राउ पर्नेमा नागरिकता बनाउने व्यक्तिका बाजे नाता पर्ने राजपुर गाउँपालिका–५, सिमलखुटीका ज्ञानबहादुर विक, हजुरआमा नाता पर्ने जोगिनी विक, नागरिकता लिने (नाति) विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्ने सावित्राकुमारी विक, गौसरी बोहरा, दुधीमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेका छन् ।
ज्ञानबहादुरले आफ्नी छोरीको छोरा (नाति) विवेकलाई आफ्नो छोरा भनी किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गत वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी बसालेर नातिलाई छोरा बनाई जन्मदर्ता बनाएको प्रहरीको भनाइ छ । जन्मदर्ताका आधारमा विश्वकर्मालाई वडाले नागरिकताका लागि सिफारिससमेत दिएको थियो ।
त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट सिफारिसका आधारमा विवेकले नागरिकता प्राप्त गरेको खुलेको छ । डिएसपी गौतमका अनुसार राजपुर गाउँपालिका–५ का अध्यक्ष टङ्कबहादुर विष्ट र वडा सचिव सन्तोष भण्डारी फरार हुनुहुन्छ । पक्राउ परेका आठ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ । प्रहरी नायब उपरीक्षक गौतमले भन्नुभयो, “उजुरी परेपछि अनुसन्धानका लागि आरोपितहरूलाई पक्राउ गरेका छौँ । पाँच दिनको म्याद थप भएको छ ।” उहाँले फरार रहेका वडाध्यक्ष र वडा सचिवलाई पनि खोज्ने काम भइरहेको छ ।
प्रहरीले नागरिकता बनाइदिने ज्ञानबहादुर विकलाई जेठ २५ गते पक्राउ गरेको थियो । त्यसपछि नागरिकता लिने विवेक विक जेठ २८ मा पक्राउ परेका थिए भने बाँकी छ जनालाई प्रहरीले जेठ ३१ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।