नेपालगन्ज समाचारदाता
नेपालगन्ज, असार ५ गते । बिरामीलाई छिटो र सहज रूपमा अस्पताल पु-याउन नेपालगन्ज उपमहानगरपालिकाले घरदेखि अस्पतालसम्म चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले उपमहानगरभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरदेखि अस्पतालसम्म पु-याउन साउन १ देखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले सबै प्रकारका बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेर तयारी सुरु गरिएको जनाउनुभयो ।
प्रमुख विष्टले थप्नुभयो, “स्थानीय सरकार जनताको सुखदुःखमा सँगसँगै छ भन्ने हाम्रो मान्यता हो । सोही अनुरूप एउटा एम्बुलेन्स चौबिसै घण्टा उपमहानगरपालिकाको कार्यालयभित्र तयारी अवस्थामा रहन्छ । कसैलाई समस्या परेको जानकारी आउने बित्तिकै बिरामीलाई समयमै अस्पताल पु-याउने व्यवस्था हुन्छ ।”
नेपालगन्ज उपमहानगरपालिकाभित्र हाल २० वटा एम्बुलेन्स सञ्चालनमा छन् । तीमध्ये पालैपालो एउटा एम्बुलेन्स चौबिसै घण्टा नेपालगन्ज उपमहानगरपालिका कार्यालयभित्र रहने छ । अन्य एम्बुलेन्सले पनि आवश्यकताका आधारमा निःशुल्क सेवा प्रदान गर्ने छन् ।
निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनाउन एम्बुलेन्स सञ्चालक र चालकहरूसँग छलफल गरिएको छ । नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजनकुमार शाहीले बैठकले उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका एम्बुलेन्सहरूले नेपाल सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गर्नका लागि स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय, एम्बुलेन्स सञ्चालक समिति तथा सरोकारवाला निकायले समन्वय तथा नियमन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।