• २३ असार २०८१, आइतबार

बाढी पहिरो पीडितको उद्धार जारी

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रधान सेनापति प्रभुराम शर्मा समेतको टोलीबाट बाढी पहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको स्थलगत निरीक्षण गरिँदै । तस्बिर : जङ्गी अड्डा

काठमाडौं, असार ४ गते । असार २ गते राती परेको अविरल वर्षाका कारण कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा लगायतका जिल्लाहरूमा बाढी तथा पहिरोबाट पीडितको नेपाली सेनाको खोज तथा उद्धार टोलीले उद्धार कार्य जारी राखेको छ । 

सेनाको उद्धार टोलीले सोमबार पाँचथर जिल्ला, याङवरक गाउँपालिका, वडा नं. १ स्थित खोलाघारी गाउँबाट पहिरोमा फसेका १० जना स्थानीय व्यक्तिहरूलाई हेलिकोप्टरद्वारा सकुशल उद्धार गरी विष्णु मावि च्याङथापुमा ल्याइएको छ । 


यस्तै पाँचथर जिल्ला, फिदिम नगरपालिका वडा नं. ४ र हिलिहाङ्ग गाउँपालिका वडा नं. ५ को बीचमा पर्ने माझिटार इलाकामा हेवाखोला र तमोर नदीको किनार, हेवाखोला किनार र माउण्टेन हाइड्रो इलाकामा नेपाली सेना सहितको टोलीले खोज तथा उद्धारको कार्य गर्नुका साथै माझिटार बस्तीको बासिन्दाहरूको खाद्यान्न, लत्ता कपडा, भाँडा वर्तन, फर्निचरका सामानहरू लगायत अन्य विविध सामानहरू सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । 

यस्तै सङ्खुवासभा जिल्लास्थित हेवा खोलामा आएको बाढीका कारण चैनपुर नगरपालिका, वडा नं.४, दोभानेबाट ६७ किमी उत्तर पूर्वमा रहेको सुपर हेवाखोला हाइड्रो पावरको मजदुर बस्ने क्याम्प तथा हाइड्रो पावरमा क्षति पुर्‍याउनुका साथै हाइड्रो पावरमा काम गर्ने कामदार १ जनाको मृत्यु, ३ जना घाइते तथा २१ जना बेपत्ता भएको हुँदा नेपाली सेनाको खोज तथा उद्धार टोलीले घाइते ३ जनालाई नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेपत्ता भएका कामदारहरूको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।

 

खोज तथा उद्धार गर्ने क्रममा सेनाले आइतबार धनकुटा जिल्ला, छ थरजोरपाटी गाउँपालिका वडा नं.४ तेलिया भन्ने स्थानमा भेटिएको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ ।

सोमबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रधान सेनापति प्रभुराम शर्मा समेतको टोलीबाट बाढी पहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको स्थलगत निरीक्षण गरी वस्तुस्थितको बारेमा जानकारी लिनुका साथै उद्धार कार्यको लागि आवश्यक निर्देशन समेत दिनु भएको थियो ।