काठमाडौं, असार ४ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
उहाँले देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको बताउनु भयो। उहाँले नेपाली कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने बताउनुभयो ।
उहाँले कांग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि नेपाली कांग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने जिकिर गर्नुभयो। महामन्त्री थापाले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेस बदल्न सक्ने भन्दै आवश्यकता अनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताउनुभयो । उहाँले देश अप्ठ्यारोमा भएको बेला कांग्रेसले देशलाई ठिक ढङ्गले सम्हाल्न सक्नुपर्ने बताउनुभयो । उहाँले यस्तो बेलामा काँग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताउनुभयो।
उहाँले भन्नुभयो,‘‘सिङ्गो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने छ । नेपाली कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो हुँदैन । देश नबदली भएको छैन । देश बदल्न सकिन्छ भन्नेकुरा महामन्त्री विश्वप्रकाश शर्मासँग सहमत छु । देश बदलिँदैन की भन्ने डरबाट युवाहरू विदेश भागिरहेका छन् भन्ने लक्ष्मण दाइको चिन्ता आएको छ । यो बीचमा कांग्रेसले देश बदल्दैन भनेर युवा बिदेसिएको चिन्ता मानेर,देश बदलिन्छ भन्ने आत्मविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्नको लागि नेपाली काँग्रेसले आफूलाई बदल्छ । बदलेको काँग्रेसले मात्रै देश बदल्न सक्छ । काँग्रेस अहिले जसरी चलेको छ । त्यसरी नै चल्ने हो । ठिक भएर चलेको छ भनेर मान्दैनौँ भने काँग्रेस दुर्घटनामा जान्छौँ । हामी जसरी चलिरहेका छौँ । यो भन्दा भिन्न ढङ्गबाट चल्नुपर्छ । चल्न सक्छौँ ।’’
कांग्रेसलाई आवश्यकता अनुसार बदल्न सक्ने पनि महामन्त्री थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कहिले काहीँ जग बदल्नुपर्छ । कहिले काहीँ झ्यालबाट बदल्नुपर्छ । धुरी नै फाट्यो भने पनि त्यो बदल्नुपर्छ । जे कुराको समस्या हुन्छ त्यो बदल्नुपर्छ । त्यो बदल्दै ठिक बनाएर जाने हो । कांग्रेस हाम्रो घर हो । हाम्रो जीवन लागेको छ । देशमा अप्ठ्यारो परेको बेला नेपाली काँग्रेसले ठिक ढङ्गले देशलाई समालेन भने देशको अर्को १० देखि १५ वर्ष जान्छ । अप्ठ्यारो परेको बेला काँग्रेस देश सम्हाल्नुपरेको छ ।’’
महामन्त्री थापाले सिङ्गो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो नहुने बताउनुभयो। उहाँले काँग्रेस बदल्दै मुलुक बदल्नुपर्ने आवश्यकता रहेको पनि बताउनभयो । देश बदल्न सकिन्छ भन्ने आत्मविश्वास लिनुपर्ने उहाँको भनाई थियो ।