गोरखापत्र अनलाइन
काठमाडौं, असार ४ गते । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरू देश र जनताको स्वार्थभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आज भएको ट्रेड युनियन कांग्रेसको ७ औँ महाधिवेशनमा उहाँले सो टिप्पणी गर्नुभएको हो ।
मुलुकको नेतृत्व गर्ने नेतामा राष्ट्र र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको उहाँको बुझाइ छ ।
पछिल्लो समय नेताहरूमा मात्रै नभएर सरकार, संसद्, न्यायालय, राज्यका संवैधानिक निकायहरू समेत संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हाबी भएको दाबी गर्नुभयो ।
राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदा मुलुकमा विभिन्न समस्या उत्पन्न भएको नेता सिटौलाको भनाइ छ । नेपालको वर्तमान राजनीतिक अवस्थाले निरन्तरता पाए नेपालले सोचेको गन्तव्यमा पुग्न नसकिने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस अहिलेकै निरन्तरतामा चल्ने हो भने २०५८ सालतिरको अवस्था आउने उहाँले बताउनुभयो । एक पटक काँग्रेसले देशमा आमजनताले चाहेजस्तो देश बनाउने बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सकेमात्र देशको विकास सम्भव हुने उहाँले बताउनुभयो ।