• ९ पुस २०८१, मङ्गलबार

मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोड : नेता चन्द

blog

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार ४ गते । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले सो कुरा बताउनुभएको हो ।

सरकारमा भएको र सङ्घर्षमा रहेको पार्टीबीच मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको उहाँले बताउनुभयो । देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै देशलाई त्यसबाट मुक्त गर्न समाजवादी मोर्चा बनेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “नेपाललाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ, कुनैपनि मूल्यमा आजको सङ्कटबाट प्रतिगामी र पश्चगामीलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन । हाम्रो देशमाथि आँखा लगाउने साम्राज्यवादीलाई कुनै पनि स्थितिमा स्वीकार गर्न सकिँदैन ।” 

नेपालको स्वाधीनता र नेपाली जनताको अधिकारका लागि नयाँ सङ्घर्ष, लडाइँ अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा नयाँ अभ्यासस्वरुप मोर्चा निर्माण गरिएको उहाँको भनाइ छ । उहाँले सात बुँदे घोषणापत्रसहित दलहरू उपस्थित भएको भन्नुहुँदै समाजवादी मोर्चाले देशको नेतृत्व गर्ने बताउनुभयो । 

“सात बुँदे घोषणापत्र लिएर तपाईँहरूको बीचमा उपस्थित भएका छौँ । पूर्ण आत्मविश्वासका साथ हामीले दाबी गरेका छौँ, यो देशको नेतृत्व अग्रगामीले गर्ने हो । यो देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने हो । देशको नेतृत्व देशभक्त स्वाभिमानी नागरिकले गर्ने हो । हामी सक्छौँ” उहाँले भन्नुभयो ।