गोरखापत्र अनलाइन
काठमाडौं, असार ४ गते । पूर्व प्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरूलाई आग्रह गर्नुभएको छ ।
काठमाडौंमा आज आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । “यो केवल सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्, म नेताहरूको ध्यानाकर्षण गराउन चाहन्छु” उहाँले भन्नुभयो ।
देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकताबद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने उहाँले बताउनुभयो । यो समाजवादी मोर्चालाई अझ बिस्तार गर्नु आवश्यक रहेको नेता खनालको भनाइ छ । आज घोषणा भएको समाजवादी मोर्चा, मोर्चा निर्माणको पहिलो पाइला मात्रै भएको खनालले चर्चा गर्नुभयो ।
मोर्चामा सहभागी नेताहरू इमान्दारी र विश्वाससाथ काम गर्न जरुरी रहेको भन्नुहुँदै नेता खनालले भन्नुभयो, “म चारै दलका नेताहरूलाई आग्रह गर्न चाहन्छु कि यो मोर्चा खाली सत्ता टिकाउने मोर्चा मात्रै नबनोस् । यो मोर्चा साँचो अर्थमा आमूल परिवर्तनको मोर्चा बनोस् ।”
देशको भविष्यलाई उज्यालो बनाउन आफूहरूको लक्ष्य समाजवादी गणतन्त्र भएको उहाँले बताउनुभयो । देशमा विद्यमान शोषण, दमन, अन्याय र अत्याचार समाप्त गर्ने एकमात्र विकल्प समाजवाद भएकाले आफूहरू त्यसप्रति प्रतिबद्ध रहेको उहाँको जिकिर छ ।