• १३ मंसिर २०८१, बिहिबार

एसियाडका लागि उसु खेलाडी छनोट

blog

एसियाड छनोटका लागि उसुमा प्रतिस्पर्धा गर्दै निमा घर्तीमगर ।

काठमाडौं, असार ४ गते । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद अन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएको उसुका मुख्य प्रशिक्षक अम्बरकुमार थिङले जानकारी दिनुभयो । 

छनोट हुनेमा दुई खेलाडी बाहेक सबै विभागीय टोलीका हुन् । थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिन्जाली तथा महिलामा आर्मीकै सुस्मिता तामाङ छनोट हुनुभयो । 

नान् छ्वान अलराउन्डको पुरुषमा कर्णाली प्रदेशका दीपक हमाल तथा महिलामा बागमतीकी निमा घर्तीमगर छनिनुभयो । थाइची छ्वान अलराउन्डको पुरुषमा आर्मीका पासाङ शेर्पा तथा महिलामा आर्मीकै सविता राई छनोट हुनुभयो । महिला चेन सु-छियाङ सुमा एपीएफकी कविता थापा छनोट हुनुभयो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमीकभर्डहलमा भएको प्रतियोगिताको सान्सौंतर्फ पुरुष ५६ केजीमा एपीएफका रोहित चुनारा, ६० केजीमा एपीएफकै मंगलप्रसाद थारु, ६५ केजीमा नेपाल प्रहरीका समन घुस्री र ७० केजीमा आर्मीका पदम राईले छनोट चरण पार गर्नुभयो । महिला ५२ केजीमा आर्मीकी एलिना चौधरी छनोट हुनुभयो ।