• १४ मंसिर २०८१, शुक्रबार

ललितपुर महानगरको पर्यटक लक्षित विद्युतीय बस

ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएकालाई निःशुल्क

blog

ललितपुर महानगर र साझा यातायात सहकारी संस्थाबीच विद्युतीय बस सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर । तस्बिर : ललितपुर महानगर

ललितपुर, असार ४ गते । ललितपुर महानगरले पर्यटकलाई लक्षित गरी विद्युतीय बस (सटर बस) सञ्चालन गर्ने भएको छ ।  महानगर र साझा यातायात सहकारी संस्थाबीच विद्युतीय बस सञ्चालन गर्नका लागि सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले साझा यातायात सहकारी संस्था लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृतलाई तीन करोडको चेक हस्तान्तरण गर्नुभएको छ । 

ललितपुर महानगरका प्रमुख महर्जन यी विद्युतीय बस पाटनको कोर एरियामा सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार पुल्चोक, मङ्गलबजार, लगनखेल, जावलाखेलमा सञ्चालन हुनेछ । प्रमुख महर्जनले भन्नुभयो, ‘‘यो एरिया अलि फराकिलो बनाउन सक्छौँ ।’’

महानगर प्रमुख महर्जनले पर्यटकको बसाई लम्याउन यो बस ल्याउनुको अर्को उद्देश्य भएको पनि बताउनुभयो । 

यी विद्युतीय बस सञ्चालन भएपछि ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६ वर्ष मुनिका बालबालिका, क र ख वर्गका अपाङ्गता भएका, महानगरले जारी गरेको पास बाहक यात्रुले निःशुल्क यात्रा गर्न पाउने छन् । यो बस १२ देखि १७ सिटको हुनेछ । ललितपुर महानगरले हाल विद्युतीय सवारी साधन खरिद गरेको जानकारी दिनुहुँदै विद्युतीय सवारी किन्ने नीति लिएको उहाँले बताउनुभयो ।

महानगर प्रमुख महर्जनले भन्नुभयो, ‘‘फोहोर उठाउने सवारी साधन विद्युतीय हुँदो रहेनछ, यो बाहेक नगर प्रहरीले चलाउने स्कुटरहरू पनि विद्युतीय छन् ।’’

ललितपुर महानगरले वातावरण जोगाउन विद्युतीय सवारी साधनालाई प्राथमिकता दिएको पनि उहाँको भनाइ छ । महानगर प्रमुखले भन्नुभयो, ‘‘महानगरले अबको आवमा सिभिल चढ्नेलाई करमा केही सहुलियत दिने तयारी गरेका छौँ ।’’

यसैगरी, उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विद्युतीय बस सञ्चालन गर्ने कार्यक्रमलाई महानगरले निरन्तरता दिएको बताउनुभयो । ललितपुर महानगरले महानगरलाई पर्यावरणमैत्री बनाउन विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘वातावरण जोगाउनका लागि यो कार्यक्रम ल्याएकौ हौँ । विद्युतीय सवारी साधनलाई सबै स्थानीय निकायले प्राथमिकता दिनुपर्छ ।’’

उपप्रमुख शाक्यले साझालाई जतिसक्दो छिटो विद्युतीय साधन ल्याएर सञ्चालन गर्न अनुरोध गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले विद्युतीय सवारी साधन भित्र्याउनका लागि महानगरले साझासँग गरेको सहकार्यको यो निरन्तरता भएको बताउनुभयो ।

साझा यातायात सहकारी संस्था लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र राज पाण्डेयले साझा र महानगरबीच विद्युतीय सवारी साधनको सन्दर्भमा लामो समय अघिदेखिको भएको बताउनुभयो ।