बाबुराम देवकाेटा
सिन्धुलीमाढी, असार ४ गते । सिन्धुलीमा डेढ महिनाको अवधिमा लम्पी स्किन रोगबाट तीन सय ९० वटा पशु चौपायाको मृत्यु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका अनुसार वैशाख महिनाको दोस्रो साताबाट देखा परेको उक्त रोगबाट जिल्लाका नौ वटै स्थानीय तहमा पशु चौपायाको मृत्यु भएको हो ।
सबैभन्दा बढी गोलन्जोर गाउँपालिकामा ८३ वटा, कमलामाई नगरपालिकामा ५७ वटा र फिक्कल गाउँपालिकमा ५२ वटा पशु चौपायाको मृत्यु भएको छ ।
त्यस्तै, मरिण गाउँपालिकामा ३५ वटा, दूधौली नगरपालिकामा ३० वटा, तीनपाटन गाउँपालिकामा ३० वटा, सुनकोसी गाउँपालिकामा २० वटा, हरिहरपुरगढी गाउँपालिकामा १५ वटा र घ्याङलेख गाउँपालिकामा १५ वटा पशुचौपायाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी तथा पशु चिकित्सक नवराज थापा हाल जिल्लामा उक्त रोगबाट १९ हजार चार ४७ वटा पशु चौपाया सङ्क्रमित रहेको र बढी सङ्क्रमित हुनेमा गाई, गोरु रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, "यो एक साताअघि सम्मको तथ्याङ्क हो, पछिल्लो तथ्याङ्क प्राप्त भई सकेको छैन । अहिले त मर्ने पशुको सङ्ख्या चार सय कटिसक्यो होला ।"
सङ्क्रमित पशुको उपचारका लागि कार्यालयसँग उपलब्ध भएको तीन लाख रुपियाँ बजेटबाट औषधि खरिद गरी पठाएको र बजेट अभावमा अरू उपचार हुन नसकेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, "समस्याबारे निर्देशनालय, विभागसम्म पत्राचार गरी जानकारी गराएका छौँ । थप केही व्यवस्था होला भन्ने आसमा बसेका छौँ ।" उहाँका अनुसार अहिले सङ्क्रमित पशुहरूमा फिक्कल गाउँपालिकामा छ हजार, सुनकोसी गाउँपालिकामा तीन हजार चार सय पशु छन् ।
त्यस्तै, दूधौली नगरपालिकामा तीन हजार पाँच सय, कमलामाई नगरपालिकामा एक हजार तीन सय, मरिण गाउँपालिकाका एक हजार १० वटा, हरिहरपुरगढी गाउँपालिकाका एक हजार एक सय, गोलञ्जोर गाउँपालिकाका सात सय ११, तीनपाटन गाउँपालिकाका दुई हजार तीन सय ३६, घ्याङलेख गाउँपालिकामा ९० वटा पशु सङ्क्रमित रहेको पशु चिकित्सक थापाले जानकारी दिनुभयो ।
झिँगा, भुसुना, लामखुट्टे विभिन्न किराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाँठागुँठी आउने, पशु वस्तुलाई कमजोर बनाउने र दूध उत्पादन घट्ने उहाँले बताउनुभयो ।
सङ्क्रमण फैलिन नदिन गोठ वरिपरि सफा राख्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउन किसानलाई सल्ला दिने गरिएको कार्यालयले जनाएको छ ।