काठमाडौं, असार ४ गते । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नु भएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले नेपाललाई आत्मनिर्भर बनाउने हो भने सरकारले कृषि बस्तुको बजार र त्यसको न्यूनतम मूल्य तोकेर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनुभयो ।
प्रमुख सचेतक चौधरीले किसानहरूले न्यूनतम मूल्य समेत नपाएपछि पछिल्लो समय कालीमाटी बजारमा टमाटरलगायतका तरकारी फ्याँक्नु पर्ने अवस्था आएको उल्लेख गर्नुहुँदै उनीहरूलाई हतोत्साहित हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘चाहेका बेला किसानहरूले मल, बीउ पाउँदैनन् । त्यसको बाबजुद पनि उत्पादन गर्छन् । न बजारको ग्यारेन्टी छ न मूल्यको ग्यारेन्टी । तर पनि उत्पादन गरिरहेकै छन् । पछिल्लो समय कालीमाटी मूलगेटमा टमाटर लगायतका तरकारी फालेर किसानहरूले विरोध गरेका छन् । किसानहरू आफ्नो पेसामा हतोत्साहित छन् । यदि नेपाललाई आत्मनिर्भर बनाउने हो भने कृषि बस्तुका लागि बजारको ग्यारेन्टी गर्ने कुरा र मिनिमम सर्पोट प्राइज कन्फर्म गर्ने कुरा गरोस् भनी सरकार र सम्बन्धित मन्त्रालयसँग माग गर्दछु ।’’
प्रमुख सचेतक चौधरीले किसानहरूलाई मल, बीउलगायतका आवश्यक बस्तुको व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।