• ९ पुस २०८१, मङ्गलबार

विपद् जोखिम व्यवस्थापनबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा ।

काठमाडौं, असार ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले विपद् जोखिम व्यवस्थापनबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।

वर्षातका कारण पूर्वी पहाडी जिल्लाहरूमा विपद्मा परी उपचार नपाएर नागरिकहरूको ज्यान समेत गइरहेका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने समाजवादी मोर्चा निर्माणमा लागेको भन्दै आपत्ति समेत जनाउनुभयो ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले वर्षातका कारण पूर्वी पहाडी जिल्लामा ठुलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका मन्त्रीहरू संसदमा बेखवर रहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

सांसद झाले बाढी र पहिरोका कारण नागरिकहरूमा मरिन्छ कि भन्ने डर बढ्दै गइरहेको तर सरकारले बेवास्ता गरिरहेको आरोप समेत लगाउनुभयो ।

‘‘मृत्युभन्दा नि ठुलो डर मरिन्छ कि भन्ने हो । त्यो पीडाले सधैँ मारिरहेको हुन्छ । अहिले पहाडको केही जिल्लाहरूलाई त्यही त्रासले मारिरहेको छ । र केही व्यक्तिहरू प्राथमिक उपचार नपाएर पनि हिजो ताप्लेजुङमा सुरेश राई नाम गरेको एक व्यक्तिको मृत्यु भयो । त्यसैगरी सबै जोखिमपूर्ण अवस्थामा रहेको छ ।,’’ सांसद झाले भन्नुभयो, ‘‘आज पहाड जोखिममा छ भने भोली तराई र मधेश जोखिममा हुनेछ । तर हामीले गृहमन्त्री र उहाँको तयारीको बारेमा जानकारी पाइरहेका छैनौँ । सायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ । अर्को, हाम्रो प्रधानमन्त्री लगायत अरू व्यक्तिहरूको जिम्मेवार पदमा रहेका उहाँहरूको उपस्थिति के हुँदैछ । हामी जनप्रतिनिधि हौँ । हामीले पनि जवाफ दिनु पर्नेछ । तर हामीले प्रश्न सोध्ने कसलाई ? जवाफ कहाँबाट अपेक्षा गर्ने ? हामी जवाफ चाहन्छौँ । यसका लागि अनुरोध गर्दछौँ ।’’

सांसद झाले आफूहरूले विपद् व्यवस्थापनका बारेमा जनतालाई जवाफ दिनुपर्ने भएकाले सरकारले यसको बारेमा संसद्लाई जानकारी गराउन ढिलाइ गर्न नहुने बताउनुभयो ।