• ९ पुस २०८१, मङ्गलबार

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय सुनसरीमा जनशक्ति तत्काल व्यवस्था गर्न माग

blog

नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्य

काठमाडौं, असार ४ गते । नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद आचार्यले त्यहाँको खेतीबालीका लागि प्रविधि र बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले सुनसरीमा मकै खेतीको पनि जोन स्थापना गर्न सरकारसँग आग्रह गर्नुभयो । दसौँ हेक्टर जमिनमा मकै खेती पनि सुरु भएकाले त्यसको पनि जोन नै स्थापना गर्नुपर्ने उहाँको भनाइ थियो ।

‘‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत देशभर भएका १७७ वटा जोनहरू मध्ये सुनसरी जिल्लामा धान, तरकारी, माछा, बङ्गुर, अदुवा र हर्दी गरी पाँच वटा जोन छन् । केही वर्षदेखि सुनसरीको दसौँ हेक्टर जमिनमा उन्नत मकै खेती हुन थालेकाले मकै जोन पनि त्यहाँ थप गर्नुपर्ने आवश्यकता छ ।,’’ सांसद आचार्यले भन्नुभयो, ‘‘यी खेतीहरूका लागि प्रविधि, भौतिक सहयोग, आर्थिक सहयोगका साथै विभिन्न ठाउँमा आवश्यक उपकरणहरू विक्री केन्द्रहरू, शीतभण्डार, प्रशोधन उद्योग लगायत बजारको राम्रो व्यवस्था गर्नुपर्ने अवस्था छ । यी सबै काम हुँदाहुँदै यावत कामहरूको व्यवस्थापन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालयमा थप मानवीय स्रोत, थप साधनको व्यवस्थापन गर्नुपर्ने माग गर्न चाहन्छु ।’’

सांसद आचार्यले सुनसरीको खेतीबाली बिक्रीका लागि सरकारले छुट्टै केन्द्रहरूको स्थापना गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।