ललितपुर, असार ४ गते । उपत्यकाका विभिन्न ठाउँको सेफ्टी ट्याङ्की सफा गरी जम्मा गरेको दिसाजन्य फोहोर महानगरको च्यासलस्थित मनोहरा खोलामा फाल्ने दुईवटा कन्टेनरलाई ललितपुर महानगरपालिकाले एक लाख जरिवाना गरेको छ ।
बा.३ ख. २८० र बा.३ ख.९४०३ नम्बरको कन्टेनरलाई महानगरले दण्ड जरिवाना स्वरूप ५०—५० गरी एक लाख तिराएको हो । अनुगमनका क्रममा महानगर प्रहरीले यी दुई कन्टेनरलाई नियन्त्रणमा लिएको थियो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई सफा र सुन्दर बनाउने अभियानलाई असहयोग गरेकाले कारबाही गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दिसाजन्य फोहोर जथाभाबी फ्याँकेर महानगरवासीको स्वास्थ्यमा खेलबाड भएको छ, यसप्रति हाम्रो गम्भीर आपत्ति छ ।’’
महानगरको फोहोर व्यवस्थापन ऐन २०७५ अनुसार जरिवाना तिराइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो । गत जेठ २४ गते महानगरको नगर प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो । महानगरले यो विषय गम्भीर भएको बताउनुहुँदै बागमती सभ्यता आयोजना र जिल्ला प्रहरी परिसरलाई पनि ती कन्टेनरलाई कारबाही गर्न पत्राचार गरेको छ ।
दुर्गेश तामाङले खोलामा फोहोर फालेर पैसा उठाउँदै आएको जानकारी पाएपछि नगर प्रहरीको टोलीले अनुगमनका लागि त्यहाँ पुगेको नगर प्रहरी प्रमुख सिताराम हाछेथूले बताउनुभयो ।
फोहोर फाल्न तामाङले खोलाको नजिकै बाँस पाइने ठाउँ भनेर बोर्ड राखी त्यसको भित्रपट्टी ढल पाइप हुँदै फोहोर खोलामा मिसाउँदै आउनुभएको थियो । प्रति कन्टेनर पाँच सय रुपियाँ लिएर तामाङले खोलामा सेफ्टी ट्याङ्कीका फोहोर फाल्न दिने गर्नुभएको थियो ।