• १२ मंसिर २०८१, बुधबार

नागरिकमैत्री ‘नेपाल प्रहरी’

blog

साक्षीले अदालतमा सत्य नबक्न पनि सक्छन्, तर प्रविधिले जहिले पनि, जहाँ पनि सत्य नै र सही समयमै घटना भएको, घटनामा संलग्न व्यक्ति तथा साधनको बारेमा समेत जानकारी दिने गर्छ । 

पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने पुनित कार्यमा अग्रपङ्तिमा अहोरात्र खटिने नेपाल प्रहरी सङ्गठनमा कार्यरत अनुसन्धान अधिकृतलाई समय–समयमा पीडितलाई न्याय दिलाउन नसकिने पो हो कि, पीडक छुट्ने पो हो कि र निरपराध व्यक्ति दोषी करार हुने पो हो कि भन्ने त्रासले सदैव सताइरहेको हुन्छ ।

९९ जना अपराधी छुटे पनि अनुसन्धानलाई निरन्तरता प्रदान गर्दै पुनः सजाय दिलाउन पहल गरौँला तर एक जना निरपराध व्यक्ति अपराधी करार हुन गयो भने त्यो अक्षम्य कमजोरी हुन्छ भन्ने अपराधशास्त्रको मान्यताअनुसार प्रहरी अनुसन्धान अधिकारी हरदम चनाखो भई अनुसन्धान गर्नुपर्ने हुन्छ र मुद्दाको गुत्थि सुल्झाउनु पर्छ । अतः अपराध अनुसन्धानमा प्रविधिको असाध्यै अहम् भूमिका रहेको तथ्य स्पष्ट हुन्छ । 

‘अपराध नियन्त्रण’ का लागि प्रहरीद्वारा प्रो–एक्टिभ पुलिसिङ अन्तर्गत समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको हुन्छ । यसमा प्रहरीले समुदाय, स्थानीय तह, विद्यालय, नागरिक समाज, सञ्चारकर्मीलगायतसँग हातेमालो गर्दै जनचेतनामूलक कार्यक्रम गरेको हुन्छ । त्यस्तै गरी सादा पोसाकमा खटिने प्रहरीमार्फत सङ्कलित खबर र अन्य विभिन्न स्रोत र प्रविधिमार्फत प्राप्त खबरलाई सूचना (इन्टेलिजेन्स) मा बदली समाजमा शान्ति, सुरक्षा अमनचयन कायम गर्न प्रहरीद्वारा गस्ती, नियमित तथा आकस्मिक चेकजाँच, गुण्डागर्दी, मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे), हात–हतियार ओसार पसार, अवैध व्यापार आदि नियन्त्रण गर्ने गरिन्छ ।

‘अपराध अनुसन्धान’ का लागि प्रहरीद्वारा रि–एक्टिभ पुलिसिङमार्फत कार्य गरिएको हुन्छ । अपराध नहोस्, घटना नघटोस् भनेर हामीले जतिसुकै अथक प्रयास गरे पनि अपराध त हुन्छ नै हुन्छ । तसर्थ, अपराध घटेको घटनास्थलबाट अनुसन्धानको कार्य सुरु हुन जान्छ । अपराधसँग सम्बन्धित सङ्कलित सबुतलाई ‘चेन अफ कस्टडी’ मेनटेन गरी विधि विज्ञान प्रयोगशालामा लगेर परीक्षण गर्ने गरिन्छ । 

प्रहरी अनुसन्धान अधिकृतले अनुसन्धानको विविध विधि र प्रविधिको माध्यमबाट सूक्ष्म तवरले अनुसन्धान कार्य सम्पन्न गरी निश्चित समयावधिभित्र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला उच्च सरकारी न्यायाधिवक्ताको कार्यालयमा पठाउने, सरकारी न्यायाधिवक्ताले जिल्ला उच्च अदालतमा मुद्दा दर्ता गरी बहस गर्ने र सम्मानित अदालतबाट न्याय निरूपण हुने विद्यमान कानुनी व्यवस्था छ ।

प्रविधिमैत्री प्रहरी किन आवश्यक छ ?

अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा प्रहरीद्वारा गरिने प्रविधिको प्रयोगले कसरी सहजता प्रदान गरेको हुन्छ । अभियुक्तले सम्मानित अदालतमा इन्कारी बयान गर्दासमेत कसरी आधिकारिकता प्रमाणित गर्न सहज हुन्छ । हालै मात्र प्रहरीद्वारा सफल अनुसन्धान भई अदालतमा थुनछेक बहसको क्रममा रहेको मुलुकभर तथा नेपाली डायस्पोरासमेतमा बहु–चर्चित मुद्दामा पनि उच्चतम प्रविधिको प्रयोग भएको स्पष्ट छ । 

मानव अधिकार संरक्षणमा प्रतिबद्ध नेपाल प्रहरी सङ्गठनको हरेक अनुसन्धान अधिकारीले प्रविधिमैत्री भई सूक्ष्म तवरले अनुसन्धान कार्य गर्ने गरेकाले सफल मुद्दाको प्रतिशतसमेत बढ्दै आएको पाइन्छ । अनुसन्धान कार्यमा ‘नो कर्पोरल पनिस्मेन्ट’ को नारालाई सार्थक बनाउन पनि सरकारले प्रहरीलाई यथासक्य आधुनिक प्रविधियुक्त र तालिम प्रदान गरी दक्ष बनाउनु अपरिहार्य छ । अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा आधुनिक प्रविधिमैत्री प्रहरीले मात्र जनधनको सुरक्षा यथोचित तवरले गर्न सक्ने र अनुसन्धानमा पूर्ण सफलता हासिल गर्ने परिकल्पना गर्न सकिन्छ । 

प्रविधिको प्रयोगको अवस्था कस्तो छ ? 

अनुसन्धान कार्यमा सङ्कलित दशी प्रमाणको परीक्षण सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला हुन्छ । उक्त प्रयोगशालामा रहेका विभिन्न ११ वटा शाखाबाट रसायन तथा लागु औषध, विस्फोटक पदार्थ, विष विज्ञान, डिएनए, जिव–सिरम विज्ञान, ब्यालेस्टिक, विवादास्पद प्रलेख, भौतिक (फुट प्रिन्ट, सवारी साधनको इन्जिन–चेसिस), फोटोग्राफी, औँला छाप, एफआइएस (अटोमेटेड फिन्गर प्रिन्ट आइडेन्टिफिकेसन सिस्टम) आदि भौतिक सबुत–प्रमाणको वैज्ञानिक परीक्षण एवं विश्लेषण गरी सम्बन्धित निकायलाई विशेषज्ञ राय उपलब्ध गराई अपराध अनुसन्धान र न्याय सम्पादन कार्यमा सहजीकरण गर्ने गरिन्छ ।

काठमाडौँ बाहिर धरानमा विष विज्ञान र लागु औषध तथा नेपालगञ्जमा विष विज्ञानको परीक्षण गरी सम्बन्धित निकायलाई रायसहितको प्रतिवेदन दिने काम भइरहेको छ ।

डिजिटल फरेन्सिक ल्याव (डिएफएल) ले कम्प्युटर, फोनलगायत डिजिटल परीक्षण, डाटा रिट्राइभ, विश्लेषण तथा अन्य वैज्ञानिक परीक्षण गरी रायसहितको प्रतिवेदन गर्ने गर्दछ । पोलिग्राफ मेसिनद्वारा शङ्कित व्यक्तिले झुट बोलेको नबोलेको सम्बन्धमा परीक्षण गर्ने गरिन्छ ।

ज्यानसम्बन्धी कसुरलगायत अन्य कारणले भएको मृत्युको कारण पत्ता लगाउन त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागमा पोष्टमार्टम गरिन्छ । साथै अन्यत्र जिल्लामा पनि जिल्लास्तरसम्मै पोष्टमार्टम गरिन्छ तर कहिलेकाहीँ विवादित मुद्दाको अनुसन्धान गर्ने कार्य र भयानक दुर्घटनाको कारण भएको दुःखद मृत्युमा शव पहिचानका लागि भने बाहिर जिल्लाबाट शवलाई त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागमा ल्याइन्छ । पोष्टमार्टम गरी परिवारलाई शव बुझाइन्छ । 

२०७९ सालमा पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परी दिवङ्गत व्यक्तिका केही शव त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका चिकित्सक पोखरा अस्पतालमै गई पोष्टमार्टमपश्चात् परिवारजनलाई बुझाइयो । धेरैजसो शव फरेन्सिक विभाग महाराजगञ्जमा ल्याई पोष्टमार्टमपछि परिवारजनलाई बुझाइएको थियो ।

काठमाडौँ उपत्यकास्थित अति संवेदनशील तथा बढी शङ्कास्पद ज्यानसम्बन्धी कसुरको घटनास्थलमा फरेन्सिक चिकित्सक लगि अपराध अनुसन्धान टिमद्वारा अनुसन्धान गरिन्छ । चिकित्सक नै घटनास्थलमा जाँदा पोष्टमार्टम गर्ने समयमा मृत्युको कारण यकिन गर्न सजिलो हुन्छ । यसले अनुसन्धान कार्यलाई पनि बढी भरपर्दो र विश्वसनीय बनाउँछ । 

चाल–चलनसम्बन्धी प्रहरी प्रतिवेदन नागरिकसँग सम्बन्धित चासोको विषय हुन्छ । केही वर्ष अघिसम्म पुलिस रिपोर्ट लिन कठिन थियो । हाल प्रविधिमार्फत संसारको जुनसुकै कुनाबाट अनलाइन फारम भरेको केही दिनभित्र पुलिस रिपोर्ट प्राप्त गर्न सकिन्छ । यसले संसारभर छरिएर रहेका नेपाली नागरिकले सन्तोषको सास फेरेको अनुभव हुन जान्छ । साथै प्रहरी एप्समार्फत अपराध भएको, हुन सक्ने जानकारी प्रहरीलाई पठाई १००, १०३ र १०४ मा फोन गरी नागरिकले अपराध नियन्त्रण र अनुसन्धानमा बिना बर्दीको प्रहरीको भूमिका निर्वाह गरेको तथ्य पनि स्मरणीय छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्र आउने विमानमा यात्रा गर्ने यात्रुका लगेज फुटाई गरिने चोरी (पिलफिरेज) ले केही वर्षअघि ठुलै चर्चा पाउने गरेको थियो । २०७५ सालमा उक्त स्थानमा कार्यरत रहँदा सिसिटिभी क्यामेरालगायत अन्य विविध प्रविधिको प्रयोग गरी पिलफिरेजलाई शून्य बनाउन सफल भइएको थियो । हाल पनिसोसम्बन्धी गुनासो प्रहरी कार्यालयमा आउने गर्दा प्रहरीद्वारा सिसिटिभी फुटेजमार्फत गुनासो सम्बोधन गर्ने गरिएको छ ।

अमेरिका, युरोपलगायत ठुला विमानस्थलबाट आउँदा वाइडबडी विमानमा यात्रा गर्ने हुँदा ह्यान्ड क्यारीमा राखेको बहुमूल्य सामान आफैँसँग रहन जान्छ । ट्रान्जिट रहेका ठुला विमानस्थलबाट काठमाडौँ आउने क्रममा न्यारोबडी विमानमा कुनै ह्यान्ड क्यारी नअट्ने हुँदा लगेजसँगै राख्नुपर्ने अवस्था हुन्छ । यस्तो बेलामा ह्यान्ड क्यारीमा रहेको उक्त बहुमूल्य सामान काठमाडौँबाहेक अन्यत्र (ट्रान्जिटमा) नै चोरी हुन जाने सम्भावना अत्यधिक हुने भएकाले यात्रुले सदैव आफ्नो बहुमूल्य सामान आफैँसँग राख्नु बुद्धिमानी हुन्छ ।

ट्राफिक प्रहरीद्वारा सवारी दुर्घटना न्यूनीकरणका तथा अनुसन्धानका लागि विविध प्रविधि प्रयोगमा ल्याइएका छन् । सिसिटिभी क्यामेरा, ट्राफिक लाइट, स्ट्रिट लाइट, रोड साइन एन्ड सिग्नल, रोड मार्किङ्स, राडर गन, लिडार गन, ब्रेथलाइजर, ड्रग्स डिटेक्सन किट, गो प्रो क्यामेरा, भ्वाइस रेकर्डर, सर्भिलेन्स क्यामेरा जडित सवारी साधन, ह्विल लक, चेन लक, म्याजिक लाइटको प्रयोगबाट उपत्यकामा सवारी आवागमनलाई धेरै मात्रामा भए पनि व्यवस्थित गर्न सकिएको छ । उपत्यकाको मुख्य मुख्य नाकामा भेइकल स्क्यानरलगायत थप प्रविधि भित्र्याउन पहल भइरहेको छ । विभिन्न एप्समार्फत सवारी जरिबाना तिर्ने कार्यले पनि नागरिकको समयको बचत भएको छ ।

२०६० साल भदौमा लन्डनको सडकमा नो पार्किङमा पार्क गरे ६० पाउन्ड जरिबाना तिर्नु पर्ने, १० औँ तले पार्किङ स्थलमा पार्क गरे घण्टाको १० पाउण्ड लाग्ने भएकाले हाम्रा सवारी चालकले एक घण्टा जत्ति नजिकैको सडकमा कार चलाउनु उत्तम विकल्प हुने ठानेका थिए रे । सेन्ट्रल लन्डनस्थित मार्क्स एन्ड स्पेन्सरमा किनमेलपश्चात् हामीलाई लिन आउँदा चालकले सुनाएको घटनासमेत मर्मस्पर्शी रहेको र नियम पालनामा कठोर बन्नु नै पर्ने आवश्यकताको महसुस यहाँ पनि भएको छ ।

सुधार गर्नु पर्ने स्थान जहाँ पनि सदैव हुन्छ । आधुनिक प्रविधिको उच्चतम प्रयोगबाट अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सदैव हातेमालोका लागि सम्बद्ध सम्पूर्ण निकाय सबल–सक्षम हुनु पर्छ । यसो गर्न सकिए मात्र ‘सुरक्षा र विकास’ ‘सुरक्षा र सुशासन’ सँगसँगै भन्ने नारा सार्थक हुन जाने अपेक्षा गर्न सकिन्छ ।

लेखक प्रहरी वरिष्ठ उपरीक्षक तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता हुनुहुन्छ । 

  

Author

दिनेशराज मैनाली