• ६ जेठ २०८१, आइतबार

स्थानीय पाठ्यक्रमको स्वरूप

blog

राज्यले विद्यालय शिक्षालाई स्थानीय तह अन्तर्गत रहने व्यवस्था गरेको छ । शिक्षाको नयाँ संरचना अन्तर्गत कक्षा ८ सम्मको शिक्षालाई आधारभूत शिक्षा भनिएको छ भने कक्षा ९ देखि १२ सम्मलाई विद्यालय शिक्षा । यसको साथै १ देखि ८ कक्षासम्मको १०० पूर्णाङ्कको पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गर्न पाउने अधिकार पनि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । स्थानीय तहमा पाठ्यक्रम निर्माण गर्दा के कस्ता विषय वस्तु छनोट गर्ने भन्ने विषयमा अध्ययन, अनुसन्धान, विचार, विमर्श तथा प्राज्ञिक बहस भएको पाइँदैन । स्थानीय तहमा रहेका जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षाविद्, शिक्षक, अभिभावकलगायत सरोकारवालाको बिचमा विचार विमर्श गर्ने संस्कृतिको विकास भएको छैन । यस सन्दर्भमा स्थानीय पाठ्यक्रम निर्माणको विषयले प्राथमिकता नपाएको देखिन्छ । 

पाठ्यक्रम भनेको बालबालिकाको सर्वाङ्गीण विकासका लागि तयार गरिएको विस्तृत योजना हो । नेपालको राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ ले ‘पाठ्यक्रमलाई शिक्षाको उद्देश्य प्राप्तिका लागि बनाइएको शैक्षिक कार्यक्रम हो’, भनेको छ । शिक्षा शब्दकोषका अनुसार पाठ्यक्रम भनेको उद्देश्य, लक्ष्य, विषयवस्तु, प्रक्रिया, स्रोत र मूल्याङ्कनको साधन हो भन्ने छ । पाठ्यक्रमलाई युनेस्कोले शिक्षाको उद्देश्य प्राप्तिका लागि विद्यालय तथा शिक्षकद्वारा विद्यार्थीका लागि तयार गरिएको योजना र निर्देशन अनुसारको सम्पूर्ण अनुभवको सँगालो हो, भन्छ । पाठ्यक्रमविद् हिल्टा टावाका अनुसार पाठ्यक्रम विद्यालयभित्र र बाहिर विद्यार्थीमा ऐच्छिक उपलब्धि प्राप्त गराउन विद्यालयद्वारा निर्माण गरिएको योजना हो, भन्ने छ । मोसेले पाठ्यक्रमलाई विद्यालयको निर्देशन भित्र रहेर सिकारुले प्राप्त गर्ने सम्पूर्ण अनुभव समावेश गरिएको शैक्षिक योजना हो, भन्छन् । यसरी माथि उल्लिखित भनाइका आधारमा हेर्दा पाठ्यक्रम विद्यार्थीको शैक्षिक विकासका लागि लागि सङ्गठित रूपमा तयार गरिएको शैक्षिक कार्य योजना हो, भन्न सकिन्छ । 

बुद्धले मन नै सबथोक हो, हामी जे सोच्छौँ त्यही हुन्छौँ भने झैँ मानिसको मनलाई परिष्कृत बनाउने माध्यम सोचाइ हो । चिन्तन हो । शिक्षा मानिसका सोचाइ तथा विचारलाई सम्पादन, संशोधन, परिमार्जन एवं परिवर्तन गर्ने स्रोत हो । हाम्रो समाजमा सामाजिक कुरीति तथा अन्धविश्वासले जरा गाडेका छन् । भूगोल, सम्प्रदाय तथा सामाजिक चेतनाका आधारमा समस्याका रूप र प्रकृति भने भिन्न छन् । समाजमा छाउपडी, देवकी, घुम्टो प्रथा, दाइजो प्रथा, महिला हिंसा, जातीय विभेद जस्ता समस्या व्याप्त छन् । आजका बालबालिकालाई माथि उल्लिखित सामाजिक समस्या समाधान गर्न सक्ने शिक्षा आवश्यक हुन्छ । मनका साँघुरा तथा अवैज्ञानिक विचारलाई फराकिलो एवं वैज्ञानिक बनाउन तर्कमा आधारित वैज्ञानिक शिक्षा चाहिन्छ । सत्य, तथ्यको खोजी गर्दा चेतनाको सम्पादन स्वतःस्फूर्त रूपमा हुन सक्ने शिक्षा नै व्यावहारिक एवं जीवन्त शिक्षा हो । तसर्थ समाजका अवैज्ञानिक, तर्कहीन एवं रूढीगत अभ्यास, चेतना वा दृष्टिकोण बदलेर आधुनिक समाज निर्माण गर्नसक्ने शैक्षिक पाठ्यक्रम समयको माग हो । यो मागलाई स्थानीय पाठ्यक्रमले सम्बोधन गर्नु पर्छ । 

 शिक्षा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हुँदै जाने विषय हो । विद्यार्थी जुन समाजमा जन्मन्छ । हुर्कन्छ । त्यहाँको विविध पक्षमा उसले बुझ्नु पर्दछ । जान्नु पर्दछ । हाम्रो देश विविधताले भरिएको छ । समाजमा भिन्न जात जाति, भाषा, भाषी, धर्म, संस्कृति, चालचलन, भेषभूषा तथा रहन सहन छन् । यी विविध समुदायका बिचमा आपसी समझदारी, धार्मिक सहिष्णुता, सांस्कृतिक अन्तरघुलन, भाषिक तथा बहुपक्षीय चालचलन तथा रहनसहनलाई आपसी स्वीकारोक्ति, एकले अर्काको इज्जत, सम्मान र आदर गर्ने संस्कृतिको विकास गर्न सक्ने समाज आजको आवश्यकता हो र भोलिको पनि । भोलिको समाजका सदस्य आजका बालबालिका हुने भएकोले आधाभूत शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण सिकाइ प्रक्रियाबाट उनीहरूलाई लोकतान्त्रिक, अनुशासित, परोपकारी, क्षमाशील, मानवतावादी तथा असल व्यक्ति निर्माण गर्न आवश्यक ठानिन्छ । 

हाम्रा हरेक स्थानीय तह कुनै न कुनै रूपमा धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, तथा ऐतिहासिक महत्वले प्रख्यात छन् । बालबालिकाले आफ्नो गाउँ, ठाउँ, क्षेत्र, प्रान्त तथा देशमा भएका महìवपूर्ण धरोधर तथा प्राकृतिक सम्पदालाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्न आवश्यक हुन्छ । आफ्नो देशको इतिहासको गौरव गर्न सक्ने, अग्रज पुस्ताको योगदानलाई इज्जत गर्न सक्ने, वीरवीरङ्गनाबाट प्रेरणा लिन सक्ने नागरिक उत्पादन गर्नु शिक्षाको महत्वपूर्ण पक्ष हो । आजका बालबालिकाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहबाट राष्ट्रिय एकताको भावना, भिमसेन थापाबाट सार्र्वभौमिकताको महìव, रामशाहबाट सामाजिक न्यायजस्ता प्रेरणालगायत विभिन्न क्षेत्रमा देशलाई योगदान दिएका व्यक्ति एवं व्यक्तित्वबाट गहिरो प्रेरणा प्राप्त गर्न सक्नु पर्छ । समाजका आदर्श, मूल्य र मान्यताको संरक्षण, संवर्धन र विकास गर्नुका साथै समाजलाई समयको गतिसँगै अगाडि बढाउने काममा शिक्षाको ठुलो भूमिका हुन्छ । यस अर्थमा स्थानीय पाठ्यक्रममा देशको इतिहास र पुर्खाको योगदानलाई महत्व दिनु पर्छ । 

शिक्षा देशको संस्कृति र सभ्यताको धरोहर पनि हो । हाम्रो मौलिक संस्कृति ओझेलमा पर्दै गइरहेको छ । हाम्रा पुर्खाले आविष्कार गरेका प्राचीन जीवन चलाउन उपयोगमा ल्याइएका स्थानीय उपकरण जस्तै जाँतो, ढिकी, चेपुवाकोल, पानी घट्ट लोप हुँदै छन् । कृषि तथा पशुपालसँग सम्बन्धित हँसिया, खुर्पेटो, नाम्लो, दाम्लो, कुटो, कोदालो, ठेकी, मदानी, चौंठीलगायत बोलीचालीका भाषा र पुराना सामग्रीको लोप हुँदै छ । यी हाम्रा पुर्खाले प्रचलनमा ल्याएका वस्तुलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्नका लागि स्थानीय पाठ्यक्रममा स्थान दिइनु पर्छ । यसै गरी पञ्चेबाजा, अन्य बाजा, गाजा, डम्फो, मादल, सारङ्गी, झ्याली, सोरठी, रोदी आदि संस्कृति झल्काउने र यिनीहरूको महत्व, विकास, संरक्षण र संवर्धनको आवश्यकताका बारेमा पाठ्यक्रमले सम्बोधन गर्नु पर्छ । 

नेपाल भूकम्प, बाढी, पहिरो, शीतलहर, सिरेटो, महामारी जस्ता समस्याले प्रभावित भएको मुलुक हो । उल्लिखित समस्या भौगोलिक बनोटका आधारमा कम वा बढी प्रभावित छन् । यी समस्याको जानकारी र विपत् व्यवस्थापनको ज्ञानमा आधारित पाठ्यक्रम भएमा प्राकृतिक प्रकोप र यसबाट बँच्न र बचाउन सक्ने उपाय पाठ्यक्रमले समेट्नु पर्दछ । प्राकृतिक विपत्पश्चात् पुनर्निर्माण गरी मनोवैज्ञानिक रूपमा सकारात्मक जीवनशैली अपनाउने आत्मबलको खाँचो पर्ने हुनाले विद्यालय शिक्षाको पाठ्यक्रममा प्राकृतिक प्रकोप र यसबाट बच्न सकिने उपायको ज्ञान तथा सिपलाई पठनपाठनको विषयवस्तु बनाइनु पर्छ । यसैगरी देशमा विद्युतीकरण भइरहेको छ । ऊर्जाको उपयोग बढ्दो छ । इन्टरनेटसँग जोडिएका डिजिटल ज्ञान र सिप पनि आजको समाजमा आवश्यक छ । यस सन्दर्भमा स्थानीय पाठ्यक्रममा बालबालिकाको उमेर समूहलाई समेत ध्यानमा राखी ई–शिक्षाका साथै ग्यास चुलो, इन्डक्सनलगायत विद्युतीय सामग्रीको प्रयोग र सुरक्षासम्बन्धी ज्ञान तथा सिपलाई पाठ्यक्रममा समावेश गर्दा आधारभूत शिक्षा उपयोगी हुन सक्छ । 

अहिले प्राकृतिक स्रोत र साधनले भरिएका हाम्रा गाउँ उजाड बन्दै गइरहेका छन् । नेपाली समाजको हातमुख जोड्ने, आयआर्जन गर्ने मूल स्रोत कृषि तथा पशुपालन क्षेत्र धराशायी भएको छ । हुँदै छ । यस सन्दर्भमा स्थानीय तहमा आधारभूत शिक्षाको पाठ्यक्रममा जैविक विविधता र ठाउँ अनुसार उत्पादन हुनसक्ने खाद्यान्न, तरकारी, फलफूल खेतीलगायत मौरीपालन, मत्स्यपालन, पशुपालन, कुखुरा पालन, हाँसपालन, पुष्प व्यवसाय, च्याउखेती, रेसमखेती, जडीबुटी, चिया, अलैँची तथा अन्य नगदे बालीको पहिचान तथा यिनीहरूको उत्पादनलाई आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रिकीकरण तथा व्यवसायीकरण गर्न सहयोग पुग्ने खालको स्थानीय पाठ्यक्रम निर्माण गर्नु पर्छ । ताकि अध्ययन पूरा गरिसकेपछि शिक्षित पुस्ताले उल्लिखित क्षेत्रमा व्यावसायिक काम गर्न सकोस् । उत्पादन र स्वरोजगारमा जोडिन सकोस् । आयआर्जनको अवसर खोज्न, रोज्न र टिकाउन सकोस् । 

अन्त्यमा स्थानीय तहले आधारभूत शिक्षामा आर्जन गरेको ज्ञान र परेको प्रभावका आधारमा भविष्यको दिशानिर्देश गर्नसक्ने पाठ्यक्रम निर्माण गर्नु पर्छ । यसका लागि राज्यलगायत शिक्षा क्षेत्रका पेसाकर्मी, शिक्षाविद्, विषय विशेषज्ञ, प्राज्ञिक वर्ग, स्थानीय तहका बुद्धिजीवी, शिक्षक, प्राध्यापक, अभिभावक, समाजसेवीलगायतको सामूहिक प्रयासमा स्थानीय पाठ्यक्रम निर्माण गर्नु पर्छ । 

लेखक शिक्षाविद् हुनुहुन्छ ।

  

Author

डा. देवीप्रसाद आचार्य