• १० मंसिर २०८१, सोमबार

ज्ञान भण्डारको लाभ

blog

नेपालमा राजकीय संस्कृत महाविद्यालयमार्फत संस्कृतमा उच्च शिक्षाको औपचारिक सुरुवात विसं २००९ मा भए पनि विसं २०४३ सालदेखि मात्र संस्कृत विश्वविद्यालयले संस्थागत आकार लिन सक्यो । २०४३ मा ऐन बनी स्थापित महेन्द्र संस्कृत विश्वविद्यालयको नाम फेरेर नेपाल संस्कृत विश्वविद्यालय बनाइयो । यो विश्वविद्यालयले बुधबार बल्ल पाँचौँ दीक्षान्त समारोह सम्पन्न गर्न सक्यो । संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र संवर्धन गर्दै ‘वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः’ जस्ता विश्व बन्धुत्व र सबैको सुखका उदात्त भावना प्रवाहित गराउने उद्देश्य यो विश्वविद्यालयको छ । नेपालमा अति प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको गौरवमय परम्परालाई निरन्तरता दिई संस्कृत शिक्षामार्फत आत्मनिर्भर जनशक्ति तयार गर्ने तथा विश्वविद्यालयलाई ज्ञान विज्ञानको समन्वय केन्द्रका रूपमा विकसित गर्नेलगायतका उद्देश्य यो विश्वविद्यालयका छन् । कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दीक्षान्त समारोहलाई सम्बोधन गर्दै नैतिकवान् र चरित्रवान् जनशक्ति उत्पादन गर्दै ‘वसुधैव कुटुम्बकम्’ को विचारलाई विश्वसामु पु-याउनुपर्ने बताउनुभएको छ । साथै उहाँले संस्कृत शिक्षालाई आधुनिकीकरण गर्दै समायानुकूल पाठ्यक्रम परिमार्जन गरिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

संस्कृत भाषा विश्वका सयौँ भाषाको जननी, प्राचीन भाषा मात्र नभई प्राच्य दर्शन र चिन्तनको अपार ज्ञान भण्डार हो । यो अन्य भाषाहरू झैँ केवल अभिव्यक्तिको साधन मात्र होइन, मनुष्यको सम्पूर्ण विकासको आधार पनि हो । देववाणी, देवभाषा पनि भनिने संस्कृतलाई केवल कर्मकाण्डी मात्र बुझिनु र ब्राह्मणको मात्र भाषा भनी बुझ्ने दुराग्रही सामाजिक समस्या छ तर वेद, जीवन दर्शन, खगोलीय अध्ययन होस् या साहित्यदेखि पाणिनीय व्याकरणसम्म संस्कृतका विभिन्न विधामा विश्वको उत्तिकै चासो र अध्ययन जारी नै छ । संस्कृत भाषामै पृथ्वी, जल र अन्तरिक्षसहित समस्त जगत्को शान्ति अनि कल्याणको महत्तम कामना प्राच्य संस्कृतिले गरेको छ ।

पश्चिमाहरू संस्कृतलाई जीवनमा उतार्न लागिपरेका छन् । अमेरिकी अन्तरिक्षसम्बन्धी कार्यालय – नासासमेत संस्कृतको महत्वलाई स्वीकारेर यसको खोजमा लागेको छ । यस अवस्थामा भविष्यमा प्रविधिमैत्री हुन र अन्तरिक्षको अध्ययनमा सहभागी हुनसमेत संस्कृत जान्न अत्यावश्यक भइसकेको छ । संस्कृतको महिमा बुझेरै विश्वमा संस्कृत शिक्षाबाट ज्ञान आर्जन गर्नका लागि २५० भन्दा बढी विश्वविद्यालय स्थापना भइसकेका छन् । जर्मनीमा मात्रै १४ वटा विश्वविद्यालय तथा धेरै विद्यालयमा संस्कृत पढाइन्छ । अमेरिकामा पनि केही विश्वविद्यालयमा संस्कृत शिक्षा छ । पश्चिमाहरूले संस्कृत ग्रन्थको अध्ययनबाट खगोल, गणित, वैज्ञानिक शोध तथा अनुसन्धान जस्ता विषयको ज्ञान हासिल गरी त्यसलाई सूचना, प्रविधि र अनुसन्धानमा प्रयोग गरेर एकपछि अर्को अभूतपूर्व सफलता प्राप्त गरिरहेका छन् । 

यो विशाल ज्ञानको भण्डारको स्रोतमै बसेर पनि हामी संस्कृतका मन्त्रमै भुल्यौँ । संस्कृतको विराटता र वैज्ञानिकतालाई मनन नगरी धर्मकर्मसँग मात्र जोडेर यसको व्यापकतालाई साँघुरो बनाइयो । पश्चिमी सभ्यताको प्रभावमा लहसिने क्रममा आफ्नै इतिहास, संस्कृति, परम्परा र ज्ञान भण्डारको उपेक्षा गरियो । विगतमा संस्कृत शिक्षा उपेक्षामा परे पनि नेपाल संस्कृत विश्वविद्यालयको स्थापनापछि यसले पुनर्जीवन पाउनुलाई सकारात्मक रूपमा लिनु पर्छ । संस्कृतको महìव बुझेका र संस्कृतलाई प्रेम गर्नेहरूमा नेपाल संस्कृत विश्वविद्यालयको प्राज्ञिक कर्मले खुसी सञ्चार गरेको छ । गुरुकुल, संस्कृत विद्यालय तथा विश्वविद्यालयमा समेत संस्कृतका विभिन्न विधामा खोज अनुसन्धान हुन सकिरहेको देखिन्न । परम्परागत संस्कार, सभ्यताका विशिष्टताको खोजी र संवर्धन, सामाजिक आवश्यकता अनुसार संस्कृत वाङ्मयमा अन्तरनिहित शास्त्रीय वा प्रायोगिक विषयहरू, योग, प्राकृतिक चिकित्सा, आयुर्वेद आदिको अध्ययन, आविष्कार तथा विकासका आधार सबै शिक्षामा नै निर्भर हुन्छन् । यही हेक्का राख्दै यस विश्वविद्यालयबाट पनि समुन्नत समाज निर्माण गर्न सक्ने सुसंस्कृत, सक्षम र अनुशासित दक्ष नागरिक उत्पादन हुने अपेक्षा स्वाभाविकै हो । 

वर्तमान सरकारले विश्वविद्यालयको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने विषयलाई आफ्नो नीति कार्यक्रमभित्र समेटेको छ । संस्कृत विश्वविद्यालयले सरकारको कार्यक्रम आत्मसात् गरी प्राज्ञिक शैक्षिक स्तरहीनताको समस्या अन्त्य गर्न प्रतिबद्ध हुनैपर्ने छ । मानिसको नवपुस्ताले भौतिकवादलाई जीवनदर्शन बनाउँदै अगाडि बढिरहेको यथार्थ मनन गरी पाठ्यव्रmमको वैज्ञानिकता र रूपान्तरणमा नै विश्वविद्यालयको प्राज्ञिक उत्थान र दीर्घजीवन सम्भव हुने छ भन्ने बोध गरिनु पर्छ । विश्वविद्यालयलाई नक्कली प्रमाणपत्रधारी, बाहुबली र भ्रष्टाचारीको दबाब र प्रभावबाट मुक्त पारेर पूर्वीय ज्ञानकेन्द्रको उदाहरण बनाइनु आवश्यक छ ।