• ९ पुस २०८१, मङ्गलबार

नेपाल–बङ्गलादेश प्रसारण लाइन सम्झौता : सहकार्य र विकासमा कोसेढुङ्गा

blog

काठमाडौँ, असार १ गते । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्‍ठसँग नेपालका लागि अस्ट्रेलिया र बङ्गलादेशका राजदूतले भेटवार्ता गर्नुभएको छ । बिहीबार भएका बेग्ला बेग्लै भेटवार्तामा द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ ।

नेपालका लागि बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीसँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बङ्गलादेशबिचको सधैँको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोसेढुङ्गा थप्ने बताउनुभयो । 

गृहमन्त्रीको सचिवालयका अनुसार उहाँले दुई देशबिच व्यापार सम्झौतामा समेत काम भइरहेको आफूले बुझेको बताउनुभयो । राजदूत चौधरी द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धमा विद्युत् प्रसारण लाइन कोसेढुङ्गा साबित हुने विश्‍वास व्यक्त गर्नुभयो । यस विषयमा निकै नै फलदायी छलफल भएको र दुई देशको व्यापार मन्त्रालयले समेत व्यापार सहजीकरण सम्बन्धमा काम गरिरहेको राजदूत चौधरीले बताउनुभयो ।

यसैगरी नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अस्ट्रेलियाबिचको सम्बन्ध सधैँ सौहार्दपूर्ण रहेको उल्लेख गर्दै अस्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहायताका लागि विशेष धन्यवाद दिनुभयो ।

राजनीतिक परिवर्तनपछि आफूहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसका लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अस्ट्रेलियाबाट साथ र समन्वयको अपेक्षा गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । खास गरी ऊर्जा र कृषिमा वैदेशिक लगानी आवश्यक भएको उहाँले बताउनुभयो ।

प्रतिउत्तरमा राजदूत भोल्कले नेपाल जस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूहरूलाई खुसी लागेको र भर्खरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयसँग पनि साझेदारी बढाउन सहकार्य भइरहेको बताउनुभयो । 

व्यापारमा समेत साझेदारी गर्न अस्ट्रेलिया इच्छुक रहेको र दुई देशबिच उच्चस्तरीय व्यापार सम्झौताको तयारी र त्यसका लागि आगामी अक्टोबरमा अस्ट्रेलियाका उच्च अधिकारीहरू नेपाल आउने जानकारी उहाँले दिनुभयो । अस्ट्रेलियामा ठुलो सङ्ख्यामा नेपाली रहेको र अस्ट्रेलियाले नेपालीको आतिथ्यता एवं शान्ति सुरक्षाको ख्याल गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठले विशेष धन्यवाद दिनुभयो । राजदूत भोल्कले नेपाली विद्यार्थीलाई छात्रवृत्तिका कोटा बढाइएको र कर्मचारी कोटासमेत तय गरिएको बताउनुभयो । 

साथै नेपाल घुम्न आउने वा सगरमाथालगायत अन्य हिमाल आरोहण गर्ने क्रममा अस्ट्रेलियाका पर्यटकलाई नेपाल सरकारले प्रदान गरेको सुरक्षा, समन्वय र सहयोगका लागि राजदूतले धन्यवाद दिनुभयो ।