• २६ वैशाख २०८१, बुधबार

लोकसेवा आयोगकाे ७३औँ वार्षिकोत्सव

‘अब लिखित परीक्षाका साथै परीक्षार्थीको आचरण पनि हेरिन्छ’

blog

लोकसेवा आयोगका सदस्य वीरबहादुर राई

काठमाडौं, असार १ गते । लोकसेवा आयोगका सदस्य वीरबहादुर राईले विशेष प्रणालीका आधारमा परीक्षा सञ्चालन भएका कारण नै आम मानिसको आयोगप्रति विश्वास बढेको बताउनुभयो ।  

आयोगले योग्यता प्रणालीलाई आत्मसात् गरेको र निष्पक्षरुपमा काम गरिरहेको  कारण अहिलेसम्म आयोग सफल र सक्षम रहेको उहाँ बताउनुहुन्छ । 

वि.सं. २००८ असार १ गते स्थापना भएको आयोग ७३औँ वार्षिकोत्सवका अवसरमा गोरखापत्र अनलाइनसँग कुरा गर्दै सदस्य राईले भन्नुभयो, “लोकसेवा आयोग विशेष प्रणालीमा आधारित छ । यसले योग्यता प्रणालीलाई आत्मसात् गरेको कारण नै अहिले सफल र सक्षम छ ।”  


आयोगले आफ्नो साख जोगाउँदै यहाँसम्म आएको र आगामी दिनमा पनि आफ्नो प्रतिष्ठा र गरिमा कायम राख्नेगरी काम गर्दै जाने विश्वास पनि उहाँले दिलाउनु भयो ।

आयोगले लिने परीक्षा पूर्णरुपमा पारदर्शी र गोपनीय हुने भएका कारण नै सबैको विश्वास जित्न सफल भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “लोकसेवा आयोगले लिने परीक्षा एकदमै पारदर्शी र गोपनीय हुन्छ । एउटै उत्तरपुस्तिका छुट्टाछुट्टै दुई व्यक्तिले जाँच गरेर मात्र अङ्क निर्धारण गर्ने गरिएको हुन्छ । त्यस कारण पनि आयोगप्रति सबैको विश्वास छ ।” 

आयोगले अब परीक्षार्थीको लिखित नतिजाको साथै आचरणको जाँचमा पनि विशेष ध्यान दिन थालेको उहाँ बताउनुहुन्छ ।

आयोगले लिने परीक्षालाई एकीकृत परीक्षा प्रणालीमा सञ्चालन गर्न सकिन्छ कि भनेर आयोगले अध्ययनका लागि एक समिति गठन गरेको उहाँ बताउनुहुन्छ । 

केही सङ्गठित संस्थाले त आयोगको परीक्षा शुल्क नै तिर्न नसक्ने बताएका छन्, यसलाई आयोगले कसरी व्यवस्थापन गर्दैछ भन्ने एक जिज्ञासामा सदस्य राईले भन्नुभयो,“लोकसेवा आयोगबाट लिइने परीक्षाहरू सकेसम्म एकद्वार प्रणालीबाट लिन सकिन्छ कि भनेर पनि सोचिरहेका छौँ । एउटै तहको मिल्दोजुल्दो पाठ्यक्रम भएका संस्थाहरूको परीक्षा लिँदा एउटै प्रश्नपत्रबाट लिन सकियो भने आर्थिक बोझ पनि कम हुन्छ ।”


यसलाई विभिन्न समूह बनाएर नै लागू गर्ने सोचमा आयोग रहेको उहाँको भनाइ छ । केही संस्था ज्यादै साना तर आयोगले लिने परीक्षामा बढी खर्च हुने भएकाले अर्थ मन्त्रालयले आयोगलाई सिधै रकम दिने व्यवस्था गर्न सकेमा आर्थिकको समस्या नहुने उहाँको भनाइ छ । 

प्रस्तुत छ– आयोग ७३औँ वार्षिकोत्सवका अवसरमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीकेशब गुरुङले तयार गर्नुभएको भिडियो वार्ता : 


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।