• १२ साउन २०८१, शनिबार

अरुण नदीले कटान गरेपछि तटीय क्षेत्रमा जोखिम

blog

किमाथाङ्का, जेठ ३२ गते । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।

गत वैशाख १७ गते पहिरो खसेर अरुण तेस्रोको डाइभर्सन टनेल थुनिएको थियो । डाइभर्सन टनेल थुनिएपछि बनेको अरुण नदीको अस्थायी तालको पानीले ड्यामको नयाँ बस्तीको पहाड कटान गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेपछि अस्थायी बाँधको नयाँ बस्तीतिर कटान गरेर अरुण बग्न थालेपछि नदी किनार आसपासका बस्तीमा जोखिम बढेको हो । उक्त बाँध अरुण नदीले आफैँ कटान गरेर खोल्न थालेपछि नदी किनार आसपासका बस्तीमा जोखिम बढेका कारण सतर्क रहन सुरक्षा निकायमार्फत जानकारी गराइएको उहाँको भनाइ छ ।

अरुण नदीले अस्थायी बाँधको कटान गरेर बग्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालयले सतर्क रहन आग्रह गरेको हो । अरुण नदी  थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो । २६ मिटर अग्लो बाँधमा पानी जमेपछि करिब तीन किलोमिटरसम्म ताल बनेको छ । अरुण नदीलाई बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइभर्सन टनेलमार्फत अरुण नदी मोडिएको थियो ।

आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाइभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो । जिल्ला प्रहरी कार्यालयले अरुण नदीको तटीय क्षेत्रका बासिन्दालाई सजग हुन आग्रहसमेत गरेको छ । रासस