जीवछ यादव
लहान, पुस ७ गते । दलित समुदायमा अति विपन्न र मुसहर समुदायका युवाहरु ४० नपुग्दै मृत्यु हुन थालेपछि मरिदा बिक्रीमा रोक लगाउन माग गरिएको छ । घरेलु मदिराको अत्यधिक सेवनले मृत्यु भइरहेकाले मदिराको बिक्री रोक लगाउन स्थानीयले माग गरेका छन् ।
लहान वडा नम्बर १ र २ मा तीन सय घरपरिवार रहेको मुसहर समुदायमा बढेको मृत्युदर घटाउन बस्ती वरिपरि रहेका आधा दर्जन रक्सी भठी हटाउन स्थानीय महिलाहरुले माग गरेका छन् । त्यस समुदायका अगुवा महिला सोनिया सदाय भन्नुहुन्छ, ‘‘अब त अति भयो धेरै ठुलो क्षति भयो । मदिरा बिक्री गर्न लहान नगरपालिकाबाट नगर प्रहरी र इलाका प्रहरी कार्यालय लहानबाट नियमित गस्ती गरेर मदिरा बिक्री वितरणमा रोक लगाएर यो बस्तीलाई जोगाइ दिनुपर्यो ।’’
नौ दिनको फरकमा ३२ वर्षीया भाइ नथुनी सदाय र २५ वर्षीय छोरा सञ्जय सदायले मदिरा सेवन गर्दा गर्दै मृत्यु भएको पीडा रामु सदायले पोख्नुभयो । मदिरा सेवन गर्नबाट रोक्न पहल गरिदिन लहान नगरपालिकासँग आग्रह गर्नुभयो । मदिरा खाएर मिर्गौला नै बिग्रिएपछि भारतको दरभङगा लगरे चार लाख खर्च गरेर जोगाएको पीडा राचन्द्र सदायले बताउनुभयो । रामु र रामचन्द्र सदाय जस्तै पीडा पोख्नेहरुको सङ्ख्या निकै छ र सबैले एउटै स्वरमा भन्नुहुन्छ, ‘‘मुसहर समुदाय बस्ती जोगाउन अब मदिरा बन्द हुनैपर्छ ।’’
लहान वडा नम्बर १ का २५ वर्षीय मृतक सञ्जय सदायको परिवारलाई राहत दिन पुग्नु भएको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले स्थानीयहरुले मदिरा बिक्री रोक्न आग्रह गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सबैले सामुहिक निवेदन दिनु एक हप्तामा मदिरा बिक्री रोक्छौ ।’’
मुसहर समुदायको मृत्युपछि दिइने खाद्यान्न राहत वितरण गर्दा अधिकांश मृतकहरु ४० वर्ष मुनिको रहेको बताउनुहुँदै नगरप्रमुख चौधरीले मुसहर समुदायको प्रगतिको बाधक र अल्पयुमा मृत्युको कारण मदिरा नै भएको भनाइ व्यक्त गर्नुभयो ।