सिराज खान
नेपालगञ्ज, जेठ ३२ गते । गत केही समययता बाँके जिल्लामा अत्यधिक गर्मीका कारण सर्पदंशका घटनाहरू पनि उल्लेख्य सङ्ख्यामा बढेका छन् । गर्मीका कारण दुलो भित्रका सर्पहरू बाहिर निस्कन थालेकोले सर्वसाधारणलाई टोक्ने घटना बढेकोले यहाँस्थित भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढेका हुन् ।
भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट एनिस्थेसोलोजिस्ट डाक्टर कृष्णप्रसाद आचार्यले अत्यधिक गर्मीका कारण सर्पदंशका बिरामी अस्पताल आउने क्रम बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार वैशाखको अन्तिमदेखि सर्पदंशका बिरामी अस्पताल आउन थालेको जनाउँदै जेठमा सो सङ्ख्या बढेको बताउनुभयो ।
डा. आचार्यका अनुसार वैशाख यताको अवधिमा पाँच जनाभन्दा बढी गम्भीर प्रकृतिका सर्पदंशका बिरामीलाई उपचार गरी घर पठाइएको छ । गर्मी बढ्दै गर्दा विशेष गरी करेट र कोब्राले डसेर विष लागेका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । आठ वर्षदेखि सर्पदंशको क्षेत्रमा काम गर्दै आउनुभएका डाक्टर आचार्यले नेपालभरि नै सर्पदंशबाट कसरी बच्ने र सर्पदंश भइसकेको अवस्थामा उपचार कसरी गर्ने भनेर विभिन्न ठाउँमा स्वास्थ्यकर्मीलाई तालिम दिने गरेको बताउनुभयो ।
यसैगरी बाँकेको राँझास्थित सर्पदंश उपचार केन्द्रका स्वास्थ्य प्राविधिक राजन कुँवरले जेठमा मात्रै तीन जना सर्पदंशका बिरामी उपचारका लागि आएको बताउनुभयो । उहाँले विष लागेका दुई जनालाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पठाइएको जानकारी दिनुभयो । स्वास्थ्य प्राविधिक कुँवरका अनुसार भेरी अस्पताल पठाइएकामा नेपालगञ्ज–१९ मोहनपुरका मुनसिङ सार्की र डुडुवा गाउँपालिका–५ नानपुरकी सरिता लामिछाने मगर छन् । उहाँले गत वर्ष १० जना सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आएको जनाउँदै यस वर्ष सो सङ्ख्या बढ्ने देखिएको जनाउनुभयो ।
त्यस्तै, बाँकेको शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रका अहेव नन्दलाल पाण्डेले जेठमा तीन जना सर्पदंशका बिरामी उपचारका लागि यहाँ आएको जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष वैशाखदेखि भदौसम्ममा ३५ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए । गर्मीयाममा सर्पदंशका धेरै बिरामी उपचारका लागि आउने हुँदा यो वर्ष झन् बढ्ने अनुमान गरिएको छ ।
राँझा र शम्शेरगञ्जमा विषरहित बिरामीको उपचार गरिन्छ भने विष लागेका बिरामीलाई भेरी अस्पताल पठाउने गरिएको छ ।