गोविन्द शर्मा
बाँके, जेठ ३२ गते । बाँकेको खजुरामा रक्त सञ्चार सेवा केन्द्र स्थापनाका लागि त्रिपक्षीय सम्झौता भएको छ । पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पतालको रूपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि अस्पताल प्रशासन, खजुरा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी बाँकेबीच त्रिपक्षीय समझदारी भएको हो ।
नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मीनबहादुर मल्लका अनुसार समझदारी अनुसार खजुरा गाउँपालिकाले आवश्यक प्राविधिक कर्मचारी नियुक्तिका लागि सहयोग गर्ने भएको छ । अस्पतालले रक्त सञ्चार सेवा केन्द्रका लागि आवश्यक कार्यालयसहितको अन्य व्यवस्थापन गर्ने छ । प्राविधिक सहयोग रेडक्रस सोसाइटीले गर्ने भएको छ ।
रेडक्रस सोसाइटी बाँकेका सदस्य मल्लले भन्नुभयो, "त्रिपक्षी समझ्दारी अनुसार तीन वटै संस्थाले आ–आफ्नो जिम्मेवारी निर्वाह गरेर केही दिनमै सेवा सञ्चालनमा आउनेछ ।"
क्यान्सर अस्पतालले सेवा दिइरहेको खजुरामा बिरामीको सहज उपचारका लागि रक्त सञ्चार सेवा केन्द्र अत्यावश्यक देखिएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिनुभयो ।अध्यक्ष मल्लले भन्नुभयो, "खजुरामा जिल्ला बाहिरबाट धेरै बिरामी आउनुहुन्छ, तर रगत चाहिएमा नेपालगञ्ज वा कोहलपुर जानुपर्ने बाध्यता अब हट्ने भएको छ ।"
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले रक्त सञ्चार केन्द्रका लागि आवश्यक स्वयंसेवी रक्तदाता खोज्ने कार्य सुरु गरिएको बताउनुभयो । विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई
प्राथमिकतामा राखेरअघि बढेको उहाँको भनाइ छ । गाउँपालिका अध्यक्ष विकले भन्नुभयो, "रक्तदानका लागि योग्यता पुगेका व्यक्तिका लागि त्रैमासिकरुपमा योजना बनाएर कार्यक्रम राखिनेछ ।"