• १४ मंसिर २०८१, शुक्रबार

करेन्ट लागेर ३६ वटा सारस क्रेन मरे

blog

लुम्बिनीका खेतमा देखिएका दुर्लभ पंछी सारस । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, जेठ ३२ गते । 
विद्युतीय पोलमा प्रवाह हुने करेन्टले लुम्बिनी क्षेत्रमा पाइने विश्वकै दुर्लभ पन्क्षी सारसको अस्तित्व सङ्कटमा पर्न थालेको छ । बृहत् लुम्बिनी क्षेत्रमा विद्युतीय पोलमा करेन्ट लागेर संवेदनशील सारस क्रेनको मृत्यु भइरहेको तथ्य बाहिर आएसँगै अस्तित्व नै सङ्कटमा परेको हो । बृहत्तर लुम्बिनीअन्तर्गत रुपन्देही, नवलपरासी र कपिलवस्तुका सिमसार क्षेत्रलाई केन्द्र विन्दुमा राखेर गरिएको सर्वेक्षणले करेन्ट लागेर ३६ वटा सारस क्रेनको मृत्यु भएको देखाएको छ ।

नेपाल जुलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको एक सर्वेक्षणले विश्वमै दुर्लभ श्रेणीमा रहेको सारस क्रेन विद्युतीय पोलका कारण जोखिममा परेको देखाएको हो ।

अध्ययनमा संलग्न प्राणीशास्त्री डा. हेमबहादुर कटुवालका अनुसार सर्वेक्षणले विद्युतीय पोलमा करेन्ट लागेर सारस क्रेनको मृत्यु भइरहेको नयाँ तथ्य बाहिर ल्याएको छ । उहाँले भन्नुभयो, “सहरीकरणले कसरी सारसको सङ्ख्या घटाइरहेको छ भन्ने देखाउँछ । सहरीकरणको नकारात्मक प्रभावलाई रोक्ने उपायबारे सोच्न आवश्यक भइसकेको छ ।” सर्वेक्षणका क्रममा विश्वमै दुर्लभ श्रेणीमा रहेको ६५२ वटा सारस बृहत् लुम्बिनी क्षेत्रमा फेला परेका छन् ।

सारसलाई नेपालका नौ वटा संरक्षित पन्क्षीहरुको सूचीमा पनि राखिएको छ । पन्क्षी अनुसन्धानकर्ता डा. हेमबहादुर कटुवालले डब्लुडब्लुएफ नेपाल र इन्टरनेशनल क्रेन फाउण्डेसनको आर्थिक सहयोगमा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र परासीमा अध्ययन सर्वेक्षण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार २८ जनाको १४ वटा टोलीले गरेको सर्वेक्षणका क्रममा कपिलवस्तुमा दुई सय, रुपन्देहीमा ३८२ र परासीमा ७० वटा सारस भेटिएका छन् । गत अप्रिल र मे महिनाको बीचमा बृहत् लुम्बिनी क्षेत्रमा ९३ वटा, पाँच–पाँच किलोमिटर ग्रिडहरूमा टोलीले बृहत् व्यवस्थित सर्वेक्षण गरेको थियो । विशेषगरी कपिलवस्तुका जगदीशपुर कृत्रिम ताल र बझाहा ताल, रुपन्देहीका विष्णुपुरा, गैँडहवा ताल, खडैया इटा भट्टा, दुई मुहान, माझगाउँ, औरधौली पूर्व, बबई दुर्गा मन्दिर, आजमघाट तथा परासीको नन्दन तालमा गणना गरिएको थियो ।

साइटिसले अनुसूची २ र आईयुसीएनको रातो किताबमा संवेदनशील सूचीमा राखिएको सारस सिमसार क्षेत्रमा बसोबास गर्छ । कटुवालले सारसको जम्माजम्मी सङ्ख्या पत्ता लगाउने, यसको भौगोलिक वितरण र वासस्थानको संरक्षणका चुनौती पत्ता लगाउने तथा सारस र मानवबीचको सम्बन्ध र सारस संरक्षणका सम्बन्धमा स्थानीय बासिन्दाको धारणा बुझ्ने प्रयास अध्ययन टोलीले गरेको बताउनुभयो ।

उहाँका अनुसार सिमसार र कृषिभूमिमा प्रत्यक्ष असर पर्दै जाँदा यही क्षेत्रलाई वासस्थानका रूपमा प्रयोग गर्ने सारस चराको अस्तित्व सङ्कटामा पर्दै गएको छ ।

“अध्ययनको मुख्य उद्देश्य पूर्व प्रजनन (गर्मी याम) मा सारसको वितरण, जनसङ्ख्याको निर्धारण, रुस्टिङ साइटको पहिचान, मानवनिर्मित खतरा र सारस क्रेनको उपस्थितिलाई असर गर्ने तत्त्वको अनुसन्धान गर्ने थियो ।,” उहाँले भन्नुभयो, “क्षेत्रीय अवलोकन र अध्ययन अनुसन्धानमार्फत हामीले तराईको चितवनदेखि कञ्चनपुरसम्म फैलिएको १० जिल्लामा सारस क्रेनको उपस्थिति पुष्टि गर्‍यौँ । भविष्यवाणी गर्ने मोडेल प्रयोग गरेर हामीले नेपालको कुल क्षेत्रफलको लगभग ४.५ (६,६५९ वर्ग किमी) सारस क्रेनको लागि उपयुक्त वासस्थान भएको अनुमान गरेका छौँ ।”

सोसाइटीका महासचिव हरिप्रसाद शर्माले अध्ययनबाट आएका निष्कर्षलाई दृष्टिगत गर्दै सारस संरक्षण र सारसबाट पर्यावरण र पर्यटनलाई प्रवर्द्धन गर्न नीतिगत तहमा छलफल गर्ने बाटो खुलेको बताउनुभयो ।

प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुमार सापकोटाले अध्ययनका क्रममा कृषि परिदृश्यसँगै सिमसार जग्गाको अभाव र निर्माण प्रयोजनका लागि सिमसार जग्गा सुकाउनुलाई महत्त्वपूर्ण खतराका रूपमा पहिचान गरिएको बताउनुभयो ।