अर्जुन काफ्ले
स्याङ्जा, जेठ ३२ गते । अर्जुनचौपारी गाउँपालिकामा दरौखोलामा तीन महिनामा ट्रस पुल निर्माण भएको छ । देशभर काम थालनी भएको लामो समयसम्म योजना सम्पन्न नभईरहदाँ सम्झौता अवधिको पाँच महिनामा बाँकी रहँदै स्थानीय उपभोक्ताले निर्माण ट्रस पुल गरेका हुन् ।
पुल दुई मिटर चौडाइ र ३२ मिटर लम्बाई रहेको छ । यहाँ २०४८ मा निर्माण भएको जीर्ण झोलुङ्गे पुल विस्थापन गर्दै पालिकाले ट्रस पुल निर्माण गरेको हो । पालिकाको मुख्य बजार वडा नं १ र २ तथा विद्यार्थी वारपार गर्ने माध्यम रहेको झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम थियो ।
अन्धाअन्धी सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत सङ्घीय सरकारको ३० लाख १० हजार ९४८ रुपियाँ ३२ पैसा, गाउँपालिकाको १९ लाख छ हजार ९३३ रुपियाँ ९४ पैसा र स्थानीयको श्रमदान एक लाख ३६४ रुपियाँ ९४ पैसा गरी कुल ५० लाख १८ हजार २४७ रुपियाँ ३२ पैसाको लागतमा ट्रस पुल निर्माण भएको हो ।
३२ वर्ष पुरानो पुल जीर्ण भएसँगै स्थानीय नागरिक तथा ससाना विद्यार्थी ओहोरदोहोरमा समस्या भएपछि ‘ट्रस ब्रिज’ निर्माण गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । बजार मुख्यबीच भागमा लठ्ठा तानेर पुर्याउन नमिल्ने भएपछि ‘ट्रस ब्रिज’ को डिजाइन गरी पुल निर्माण गरेको बताउँदै तिवारीले नयाँ पुल निर्माण सँगै पुलबाट हुने दुर्घटनाको जोखिम सकिएको बताउनुभयो ।
गाउँपालिका र बजार आउन एक घण्टा बढी समय खर्चनु पर्ने अवस्था विगतमा रहेको र पुल निर्माण सँगै सहज र छिटो भएको तिवारीको भनाइ छ । विगतमा स्थानीय नागरिक वा विद्यार्थी ओहोर दोहोर गर्न हल्लिने जोखिम पुल तर्ने अथवा अन्य माध्यमको खोजी गर्नुपर्ने बाध्यता रहेको बताउँदै अर्जुन चौपारी पुल निर्माण समितिका अध्यक्ष क्याप्टेन रुद्रबहादुर थापाले तीन महिनामै ट्रस पुल निर्माण भएपछि स्थानीयमा खुसीयाली छाएको बताउनुभयो ।