नेपाल संस्कृत विश्वविद्यालयको कुलपतिका हैसियतले विश्वविद्यालयको प्राङ्गण बेलझुन्डी दाङमा आयोजित पाँचौँ दीक्षान्त समारोहमा उपस्थित भएर आफ्नो मन्तव्य व्यक्त गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। यस अवसरमा म नेपाल संस्कृत विश्वविद्यालयको स्थापना, यसको विकास र अग्रगतिका लागि अनवरत प्रयत्न गर्नुहुने संस्कृतप्रेमी सबै महानुभावको श्रद्धापूर्वक स्मरण गर्दछु।
संस्कृत भाषा केवल प्राचीन भाषा मात्र नभई प्राच्य दर्शन र चिन्तनको अपार ज्ञानभण्डार पनि हो। विद्वान्हरू भन्छन्, “विविध विद्या र कलाका बारेमा जाने पनि जसले संस्कृत जान्दैन, उसले आफूलाई चिन्न सक्दैन। आफूलाई चिन्न मात्र होइन, पूर्वीय भूगोलमा बस्ने हामीले आफ्नो माटो, आफ्नो देश, आफ्नो संस्कृति र समाजको सुगन्ध अनुभव गर्न पनि संस्कृतको ज्ञान अत्यावश्यक छ।”
असतो मा सद्गमय
मृत्योर्मा अमृतं गमय
तमसो मा ज्योतिर्गमय
अर्थात् असत्यबाट सत्यतिर, अन्धकारबाट प्रकाशतिर र मृत्युबाट अमरत्वतिरको यात्राका लागि प्रेरित गर्नु नै प्राच्य ऋषिमहर्षिहरूको मूल सन्देश हो। पृथ्वी, जल र अन्तरिक्षसहित समस्त चराचर जगत्को शान्ति अनि कल्याणको महत्तम कामना गर्नु प्राच्य संस्कृतिको उदात्त पहिचान हो। विश्वविद्यालयको कुलपतिका हैसियतले तपाईंहरू सबैलाई म यही शुभकामना ज्ञापन गर्दछु र तपाईंहरूको कर्तव्य पनि यही हो भन्ने ठान्दछु।
हामी सबैलाई थाहा छ, प्राच्य मनीषीहरूद्वारा मानवीय सुख, समृद्धि, संस्कार तथा पर्यावरण संरक्षणका निम्ति भएका अद्वितीय अनुसन्धानको भण्डार संस्कृत भाषामा नै सुरक्षित छ। नेपाल संस्कृत विश्वविद्यालय यही परम्पराको उत्तराधिकार प्राप्त र देशका अन्य विश्वविद्यालयभन्दा पृथक् पहिचान बोकेको शैक्षिक संस्था हो। पूर्वीय वाङ्मयको संरक्षण र संवर्धन गर्नुका साथै नेपालीपनको जगेर्ना गर्नु यसको मुख्य दायित्व एवं कर्तव्य हो। नेपालमा उच्च शिक्षाको विकास, विस्तार र स्तरीकरणमा नेपाल संस्कृत विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विशेष गरी पौरस्त्य मूल्य मान्यता, संस्कार, संस्कृति र आदर्शको संवर्धन एवं विकासमा नेसंविले दिएको योगदान अत्यन्त प्रशंसनीय छ। यस पृष्ठभूमिमा नेपाल संस्कृत विश्वविद्यालयद्वारा आज आयोजित पाँचौँ दीक्षान्त समारोह अत्यन्त महत्त्वपूर्ण, विशिष्ट प्रकृतिको र ऐतिहासिक छ।
विविध कारणले गर्दा नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह विगत १२ वर्षयता सम्पन्न हुन सकेको थिएन। छात्रछात्राको वर्तमान र भविष्यसँग गाँसिएका यस्ता कार्यक्रमलाई समयमै आयोजना गर्न विश्वविद्यालय प्रयत्नरत रहनु पर्दछ। देशको दोस्रो ठुलो र पुरानो विश्वविद्यालयको नाताले यस विश्वविद्यालयका शिक्षक, कर्मचारी र छात्रछात्रामा गुरुत्तर दायित्व रहेको छ।
नयाँ नयाँ खोज, आविष्कार तथा विकासका आधारहरू सबै शिक्षामा नै निर्भर हुने भएकाले यस विश्वविद्यालयबाट पनि समुन्नत समाज निर्माण गर्न सक्ने सुसंस्कृत, सक्षम र अनुशासित दक्ष नागरिकको उत्पादन हुने अपेक्षा गर्नु स्वाभाविकै हो। ‘उदार चरितानां तु वसुधैव कुटुम्बकम्’ को पाठ सिकाउने संस्कृत वाङ्मयको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने गराउने यस विश्वविद्यालयबाट राष्ट्रले धेरै ठुलो अपेक्षा गरिरहेको छ।
दीक्षाको शाब्दिक अर्थ हो– गुरु वा आचार्यबाट दिइने ज्ञान। त्यस्तो विमल ज्ञान, जसबाट कर्मवासनाको क्षय हुन्छ साथै मानिस निर्भय र मुक्त हुन्छ, त्यसलाई दीक्षा भनिन्छ र त्यही दीक्षाक्रमको समाप्ति नै ‘दीक्षान्त’ हो। आधुनिक विश्वविद्यालयहरूबाट ‘पराविद्या’ समकक्षी त्यस्तो निर्मल ज्ञानको अनुशीलन असम्भव भए पनि संस्कृत विश्वविद्यालयको सुदूर लक्ष्य यस्तै अमृतमय ज्ञानको विस्तारसँग जोडिनु पर्छ भन्ने म ठान्दछु। आधुनिक सन्दर्भमा चाहिँ कुनै विश्वविद्यालयबाट हुने निश्चित अध्ययन अवधि वा अध्ययन कार्यको समाप्ति नै दीक्षान्त हो। यहाँ उपस्थित सबै छात्रछात्रा कुनै निश्चित शैक्षिक अवधि पूर्ण गरेर आज दीक्षित हुँदै हुनुहुन्छ। तसर्थ तपाईंहरूको जीवनको यो अत्यन्त महत्त्वपूर्ण क्षण हो। तपाईंहरूलाई दीक्षा वाक्यहरूद्वारा दीक्षित गर्दाको यो क्षण मेरा लागि पनि अवश्य अविस्मरणीय रहने छ। वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवं प्रवर्धनका लागि विश्वविद्यालयबिच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहन्छ। विश्वविद्यालयको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने कुरालाई नेपाल सरकारले आफ्नो नीति कार्यक्रमभित्र समेटेको छ। विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्य र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउन पनि नेपाल सरकार प्रतिबद्ध छ।
आज दीक्षित छात्रछात्रा नेपाल राष्ट्रको नवनिर्माणमा आफ्नो बौद्धिक क्षमता, शारीरिक शक्ति र मानसिक एकाग्रताको भरपुर उपयोग गर्न समर्थ हुनुहोस्, मेरो हार्दिक शुभकामना छ। अध्ययन गर्नु वा ज्ञान प्राप्त गर्नु र त्यसलाई व्यवहारमा उतार्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। प्राचीन गुरुकुलमा दीक्षान्तका बेला गुरुहरू आफ्ना शिष्यले आफूले पढाएको र सिकाएको कुरालाई कत्तिको आत्मसात् ग¥यो, आफूले दिएको ज्ञानलाई उसले व्यवहारमा उतार्न सक्छ कि सक्दैन भन्ने कुराको परीक्षण गर्थे। यो कुरालाई मनन गरेर तपाईंहरूले पनि आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्ने प्रयत्न गर्नुहुने छ साथै संस्कृत वाङ्मयभित्र रहेको ज्ञानराशिलाई लोकसमक्ष पस्किने अभिभारा आफूहरूमाथि रहेको यथार्थलाई बिर्सनु हुने छैन भन्ने मेरो विश्वास छ। वर्तमान अवधि गुणस्तरका लागि प्रतिस्पर्धाको समय हो। आफ्नो क्षमता र स्तरवृद्धि गर्दै जाने हो भने अवसरहरू स्वतः प्राप्त हुँदै जान्छन्। यो सत्यलाई हामी सबैले मनन गर्नु पर्छ।
आदरणीय प्रमुख अतिथिज्यूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यहाँ जस्तो विशिष्ट विद्वान्लाई यस समारोहको प्रमुख अतिथिका रूपमा स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। यहाँको सारगर्भित दीक्षान्त मन्तव्यमा अन्तर्निहित विचारहरूलाई यस समारोहमा दीक्षित हुने छात्रछात्राले मनन गर्नुहुने छ भन्ने मेरो विश्वास छ। नेपाल र भारतबिच दुई असल छिमेकीको सम्बन्ध मात्र होइन, खुला सिमाना र ऐतिहासिक सांस्कृतिक सामीप्यका कारण जनस्तरमै गहिरो सम्बन्ध छ। मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्रीज्यूको मैत्रीपूर्ण निमन्त्रणामा म पनि केही दिनअघि भारत भ्रमणमा गएको थिएँ। त्यहाँ प्राप्त सम्मान र आतिथ्यलाई मैले नेपालप्रतिको भारतको सम्मान र अपनत्वका रूपमा लिएको छु।
यति बेला हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न लागिपरेका छौँ। मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु पनि त्यत्तिकै आवश्यक छ। राष्ट्रिय पुनर्जागरणको यो महान् यात्रामा नेपाल संस्कृत विश्वविद्यालयले पनि आफ्नो अंशदान गर्नै पर्छ। जनताको जीवनस्तर माथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन साथै आत्मनिर्भर तुल्याउन शिक्षण संस्थाहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। यतिखेर यस विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, छात्रछात्रा र सम्पूर्ण शुभचिन्तक राजनीतिक आस्था एवं दलगत अभ्यासदेखि माथि उठेर शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न समर्पित हुनु जरुरी छ। मेरो नेतृत्वको सरकार यस विश्वविद्यालयका कार्ययोजनालाई सघाउन सदैव तयार रहेको कुरामा म तपाईंहरूलाई विश्वस्त तुल्याउन चाहन्छु।
आदरणीय प्रमुख अतिथिज्यू, विद्वत् समुदाय, विश्वविद्यालयका पदाधिकारी, विश्वविद्यालय परिवार, प्रिय छात्रछात्रा तथा आमन्त्रित महानुभावहरू, म आज दीक्षा पाउने सबै छात्रछात्राप्रति जीवनको यस महत्त्वपूर्ण घडीमा सफलता र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईंहरूले आजसम्म आर्जित गरेको ज्ञान, सिप र दक्षताको व्यावहारिक प्रयोगको बेला आएको छ। कर्तव्यप्रतिको निष्ठा, आफूले आर्जेको ज्ञानप्रतिको विश्वास र दृढ इच्छाशक्तिका साथ यस विश्वविद्यालयको मर्यादा र प्रतिष्ठालाई ध्यानमा राखी अनुशासित भएर तपाईंहरू राष्ट्र सेवा र लोकहितमा प्रवृत्त हुनुहोस्। तपाईंहरूको ज्ञान राष्ट्रका लागि फलदायी र उपयोगी होस् साथै तपाईंहरूको व्यक्तिगत जीवन पनि सुखमय, समुन्नत र सफल बनोस् भन्ने शुभकामनासहित हार्दिक बधाई ज्ञापन गर्दछु।
अन्त्यमा यस विश्वविद्यालयलाई यस स्थितिमा ल्याइपु-याउने र यसको उन्नतिमा निरन्तर योगदान गर्ने सबै विद्वान्, विश्वविद्यालयका पदाधिकारी, सहयोगी व्यक्तित्व, तमाम विद्यार्थी र स्थानीय अभिभावकमा धन्यवाद ज्ञापन गर्दछु। साथै प्रमुख अतिथि प्राडा हरेराम त्रिपाठीज्यूमा पुनः हार्दिक आभार व्यक्त गर्दै मेरो मन्तव्य यहीँ अन्त्य गर्दछु।
जयतु संस्कृतम्।।
(प्रधानमन्त्री एवं नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा बुधबार भएको सम्बोधन)