• १३ पुस २०८१, शनिबार

अत्याधुनिक स्वास्थ्य परीक्षण प्रयोगशाला स्थापना

blog

धर्बेन्द्र झा

धनुषा, जेठ ३१ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा निजी लगानीमा अत्याधुनिक स्वास्थ्य परीक्षण प्रयोगशालाको स्थापना गरिएको छ । मङ्गलम् डाइग्नोष्टिक सेन्टर नाम रहेको उक्त प्रयोगशालाको एक कार्यक्रमबीच बुधबार जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उद्घाटन गर्नुभएको हो । 

कार्यक्रम बोल्दै जानकी मन्दिरका महन्थ दासले क्यान्सर जस्ता जटिल किसिमको रोगको परीक्षणका लागि यस क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य परीक्षण गराउनका बाहिर जानु पर्थ्यो तर जनकपुरमै यस प्रकारको स्वास्थ्य परीक्षण प्रयोगशालाको स्थापना भए पश्चात् बाहिर जानु पर्ने बाध्यता समाप्त भएको र यस प्रयोगशालाबाट आम सर्वसाधारणले सर्भशुलभ रूपमा सेवा लिने बताउनुभयो । 

मङ्गलम् डाइग्नोष्टिक सेन्टरका अध्यक्ष डा. अमरनाथ ठाकुरले यस प्रयोगशालाबाट दुई घण्टाभित्रमा स्वास्थ्य परीक्षणको रिर्पोट दिने गरी व्यवस्था मिलाएको बताउनुभयो । वास्तवमा गरिब, विपन्नलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो प्रयोगशालाबाट दिइने स्वास्थ्य परीक्षण रिर्पोट सही रहने र त्यसका लागि दक्ष चिकित्सक र अत्याधुनिक मेसिनहरू जडान गरिएको बताउनुभयो । उहाँले अन्य निजी प्रयोगशालाभन्दा यस प्रयोगशालामा परीक्षण शुल्क पनि कम निर्धारण गरिने बताउनुभयो । 

तीन करोड लगानीमा सञ्चालन भएको उक्त प्रयोगशालाले बिहीबारदेखि आफ्नो काम सञ्चालन गर्ने उद्घाटन कार्यक्रममा जानकारी दिइएको छ । यस प्रकारको प्रयोगशालाको स्थापनाले यस क्षेत्रका बासिन्दालाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य भई स्वास्थ्य परीक्षणमा कम पैसा खर्च हुने प्रयोगशालाका प्रवक्ता घनश्याम मिश्रले जानकारी दिनुभयो ।