तिलाचन पाण्डे
तम्घास , जेठ ३१ गते । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले ८० वर्ष कटेका ज्येष्ठ नागरिकलाई रेडियो सेट, लौरो र थर्मस वितरण गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ७ वाग्लाका ८० वर्ष कटेका ६० जना ज्येष्ठ नागरिकका लागि रेडियो सेट, लौरो र थर्मस वितरण गरिएको हो।
वृद्ध अवस्थामा एक्लै बसेको बेला मनोरञ्जन र ज्ञानका कुरा सुन्नको लागि रेडियो, हिँड्ने सहाराको लागि लौरो र तातो पानी राखेर खान मिल्ने थर्मस वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडाको एक लाख ५० हजार रुपियाँ बजेटबाट थर्मस, पालिकाको बजेटबाट लौरो र रेडियो खरिद गरेर वितरण गरिएको हो ।
ज्येष्ठ नागरिकका लागि एकल नभएको महसुस गराउन र स्थानीय सरकार उहाँहरूकै साथमा रहेको पोखरेलको भनाइ छ ।