• १३ पुस २०८१, शनिबार

अङ्ग्रेजी माध्यममा पठनपाठन गर्न माग

blog

अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै नगर शिक्षा संयोजक भोगेन्द्र यादव लगायत । तस्विर : ललिता साह

ललिता साह

सप्तरी, जेठ ३१ गते । सप्तरीको एक विद्यालयको अभिभावक भेलाले सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुनुपर्ने माग गरेका छन् । राजविराज नगरपालिकाको श्री पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा राजनीति सङ्गठनमा लागेका शिक्षक मुक्त शिक्षा र अङ्ग्रेजी माध्यमको पठनपाठन यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गरिएको हो ।

राजविराजको पहिलो श्री पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको बुधबार सम्पन्न अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै नगरका विद्यालयहरूमा चाहिने सबै आवश्यकता पूर्ति गर्न नगरपालिका तयार रहेको राजविराज नगरपालिका शिक्षा शाखा संयोजक भोगेन्द्र यादवले बताउनुभयो ।

राज्यले अर्बौँ लगानी रहेको सरकारी विद्यालयहरूको शिक्षाको स्तर खस्किँदै जानुमा शिक्षक, विद्यालय प्रशासन, विद्यार्थी र अभिभावक सबै पक्षबाट अनुशासनको पालना र आत्मसमीक्षा नगर्नु, आर्थिक पारदर्शिता हुने गरी तोकिएको समयमा सार्वजनिक सुनुवाइ, अभिभावक भेला, अतिरिक्त क्रियाकलाप नहुनु जस्ता कारण रहँदै आएको उहाँले बताउनुभयो ।

शिक्षा ऐन दफा १२ को उपदफा १ र २ भित्र रहेर आउँदो असार ८ गते विद्यालय व्यवस्थापन समिति गठन गर्ने यस भेलाको उद्देश्य रहेको श्री पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन मिश्रले जानकारी दिनुभयो ।

यस विद्यालयले कक्षा १२ सहित १८ महिनेदेखि तीन वर्षे प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । कक्षा १ देखि १२ कक्षासम्मको शैक्षिक उपलब्धि बारे कक्षा १–१२ सम्म एक हजार १५ र प्राविधिक तर्फको एक सय १ विद्यार्थी गरी एक हजार एक सय १६ विद्यार्थी अध्ययन गर्दै आएका छन् । 

विद्यालयको भौतिक संरचना अन्तर्गत प्रदेश सरकारबाट दुई सय १५ मिटर बाउन्ड्रीवाल निर्माण गरेका हुन् भने सेभ द चिल्ड्रेन,सेभ द सप्तरी, इपिसेन्टर रौतहट लगायतको सहयोगमा शौचालय, खानेपानी तथा विद्यालय पूर्व कक्षाको बसाई व्यवस्थापन लगायतको काम भएको हो सहायक प्रधानाध्यापक किशोर कुमार चौधरी बताउनुहुन्छ ।