• १४ मंसिर २०८१, शुक्रबार

बाँकेका चार पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

blog

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न खोप नलगाएकाको खोजी गरिँदै । तस्बिर : सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, जेठ ३१ गते । बाँकेका आठमध्ये चारवटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका छन् । स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिका अझै घोषणा हुन बाँकी छन् । खोप सुपरभाइजर श्रेष्ठले बाँकी रहेका चार वटा पालिकामा पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने मापदण्ड पुरा गर्ने कार्य तीव्र गतिमा भइरहेकोले छिट्टै घोषणा गरिने बताउनुभयो । उहाँका अनुसार पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाएर पालिकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु पर्दछ । सबै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने योजना छ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बालबालिकालाई प्रत्येक महिना नै १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ । नियमित खोपबाट छुटेका बालबालिकालाई खोप लगाउनका लागि गत माघदेखि वैशाखसम्म खोज र खोप भन्ने अभियान चलाइएको थियो । 

खोप फोकल पर्सन श्रेष्ठले छुटेका बालबालिकालाई अभियानले समेटेपछि चार वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहज भएको बताउनुभयो । उहाँले यो वर्ष दादुरा महामारी फैलिएकाले वैशाखमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुन नसकेको बताउनुभयो । 

आगामी असारको पहिलो सातासम्ममा सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।