शेरबाहदुर सार्की
बाजुरा, जेठ ३१ गते । बाजुरामा गए राती चट्याङ परेर एक जना युवकको मृत्यु भएको छ । बाजुरामा मङ्गलबार साँझ परेको अविरल वर्षासँगै परेको चट्याङ कारण जगन्नाथ गाउँपालिका वडा नं.१ डाँडाबाडाका ३१ वर्षीय युवक यमराज विष्टको मृत्यु भएको हो ।
गाउँबाट झण्डै ६ घण्टाको दुरीमा रहेको दिउँरा पाटनमा भैँसीको गोठालो गएको बेलामा चट्याङ परेर उहाँको ज्यान गएको जगनाथ गाउँपालिका वडा नं १ का वडा अध्यक्ष गणेशराज गिरीले बताउनुभयो। उहाँले भन्नुभयो, "विष्ट केही महिनाअघि भैँसी पालन गर्नका लागि दिउँरा पाटनमा जानुभएको थियो । उतै गोठ बनाएर बस्नु भएको थियो । गए राती एकासी चट्याङ लागेर उहाँको ज्यान गएको हो ।" चट्याङ लागेर विष्टको पुरै शरीर टुक्रा टुक्रा परेको उहाँले बताउनुभयो ।
भैँसीको गोठमा रहेको बेला गए राती करिब ८ बजे रुखमा चट्याङ परेर विष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाउँभन्दा धेरै टाठा रहेकोले उहाँको शव अहिले गाउँमा ल्याउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरले बताउनुभयो ।
चट्याङ लागेर यो भन्दा पहिला पनि बाजुरामा दुई जना ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी ऐरले बताउनुभयो ।