• १२ मंसिर २०८१, बुधबार

कर्णालीमा माछा मारेर राम्रो आम्दानी

blog

जालमा परेको माछा देखाउनुहुँदै मनिषा बिक। तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, जेठ ३० गते। हुम्लाको खार्पुनाथ गाउँपालिका –१ को लाली गाउँकी मनिषा विक कर्णाली नदीमा माछा मारेर घर चलाउनुहुन्छ। आम्दानीको अन्य श्रोत नभएपछि कर्णाली नदीमा उहाँ दैनिक जाल हाल्न पुग्नुहुन्छ। 

अघिल्लो बेलुुका नदी किनारमा गएर जाल हाल्ने र पछिल्लो दिन बिहानै माछा परे नपरेको हेर्ने काम दैनिकी जस्तै भएको बताउनुुभयो। कर्णालीमा यसरी जाल थापेर माछा मार्ने उहाँ एक्लो महिला हुनुहुन्छ। 

यसरी जालमा परेका माछा उहाँ प्रतिकेजी आठ सय रुपियाँमा बिक्री गर्दै आउनुभएको छ। अन्य काम गर्ने विकल्प नहुँदा माछालाई जाल हाल्ने पेशा रोजेको उहाँको भनाइ छ। 

यसरी जाल थापेर मारेका माछाबाट उहाँले दैनिक दुई हजारदेखि चार हजार रुपियाँसम्म कमाई गर्नुहुन्छ। माछा बिक्री गर्न पनि टाढा जानुु पर्दैन। कर्णाली करिडोरमा हिँड्ने पैदल यात्रुहरुले उहाँले जालमा पारेका माछा किन्ने गरेका छन्। 

जालमा परेको माछालाई देख्ने बित्तिक्कै पैदल यात्रुले माछा किन्ने गरेको उहाँको भनाइ छ। राम्रो आम्दानी भएकाले घर चलाउन सहज हुँदा उहाँ यो पेसाबाट सन्तुष्ट रहेको बताउनुहुन्छ। 

काेरिडोरमा हिँड्ने यात्रुले माछा जालमा पारेकै ठाउँबाट किन्ने गरेका छन्। बाँकी रहेका माछा उहाँ सडक किनारमा बसेर बिक्री गर्नुहुन्छ। उहाँलाई जाल बुन्ने कामका श्रीमान् र छोराले सहयोग गरिरहेका छन्।