• १२ मंसिर २०८१, बुधबार

कुशे गाउँपालिका-९ मा विवाह गर्न वडाको सिफारिस अनिवार्य

blog

सहदेव बस्नेत
जाजरकोट, जेठ, ३० गते । 
जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लागू गरेको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।

वडाध्यक्ष शिवराज गिरीले समाजमा बढ्दै गएको बालविवाहलाई न्यूनीकरण गर्न जेठ ३० गतेदेखि विवाहपूर्व वडाबाट सिफारिस लिनुपर्ने नियम लागू गरेको बताउनुभयो ।

विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको वडाध्यक्ष गिरीले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष देवीका कुमारी सिंहले बालमैत्री वडा घोषणा गरिएको यस वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाएको जानकारी दिनुभयो ।