राजन रावत
हुम्ला, जेठ २९ गते । हुम्लाका अधिकांश ग्रामीण क्षेत्रका महिला सरसफाइको कमीले गर्दा रोगको सिकार भएको पाइएको छ । उहाँहरूले शरीरको सरसफाइ नगर्दा अनेक रोगका सिकार हुनेगरेको अध्ययनले देखाएको छ ।
जिल्ला अस्पतालमा सञ्चालन भएको शिविरमा उपचार गर्न आउनुभएकी खार्पुनाथ गाउँपालिका –५ कि धनकली कामीले तल्लो पेट दुख्ने समस्याले पीडित हुँदैआएको बताउनुभयो । बेला–बेला सेतो पानी बगिरहने समस्याबाट पीडित हुँदैआउनुभएकी उहाँलाई दैनिक रूपमा पेट दुख्नेगर्छ ।
शिविरमा उहाँले गाइने वार्डमा गएर उपचार समेत गर्नुभयो । कामीलाई चिकित्सकले चेकजाँचपछि औषधि समेत दिन सिफारिस गरेबमोजिम औषधि प्राप्त गर्नुभएको छ । अब उहाँलाई रोग निको हुन्छ भन्ने आशा समेत पलाएको छ । उहाँले शरीरको सरसफाइ गर्ने समय नभएको कारण त्यसै चल्दैआएको स्वीकार गर्नुभयो ।
एकीकृत स्वास्थ्य शिविरमा महिलासम्वन्धि रोगको उपचारमा संलग्न रहनुभएकी चिकित्सक रश्मि बास्कोटाले उपचारका लागि आएका अधिकांश महिलाले सरसफाइ नगरेको कारण रोगको सिकार भएको बताउनुभयो । उहाँले यो समस्या एक जना महिलामा मात्र नभएर अधिकांशमा उस्तै रहेको बताउनुभयो । महिना दिनसम्म सरसफाइ समेत नगरेको बताउने बिरामी महिला समेत भेटाएको बताउँदै उहाँले सरसफाइ मात्र गर्न सके धेरै बिरामीबाट बच्न सकिने सुझाव दिनुभयो ।
फोहोरकै कारण इन्फेक्सन भएर महिलालाई बिरामीले बढी सताएको उहाँको भनाइ छ । अहिले पनि महिनावारी हुँदा पेन्टी नलगाउने र सेनिटरी प्याडको प्रयोग नगर्ने महिला उपचारका क्रममा धेरै भेटिनु भएको उहाँले बताउनुभयो । महिनावारी भएको बेला मात्र नुहाउने गरेका महिला उपचारका क्रममा भेटिएको उहाँले बताउनुभयो ।
केही महिलाले महिनावारीको बेला बगेको रगत समेत सफा नगरेको भेटिएको छ । अर्को कुरा पानी कम प्रयोग गर्ने भएका कारण पनि महिलाको पिसाबमा फोहोर आउनेगरेको चिकित्सकको भनाइ छ । शिविरमा २५० जना महिला शिविरमा आएर रोगको उपचार गराउनुभएको थियो । महिलालाई सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्न आवश्यक रहेको बताउँदै कलिलै उमेरका महिला बढी पीडित देखिएको बताउनुभयो ।