• २२ असार २०८१, शनिबार

प्रतिस्थापन कला ‘डुङ्गा चिया घर’

blog

काठमाडौँ, जेठ २९ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा यति बेला राष्ट्रिय ललितकला प्रदर्शनी २०८० चलिरहेको छ । सातै प्रदेशका कलाकृति प्रदर्शनीमा छन् । समसामयिक कला, हस्तकला, लोक कला, प्रतिस्थापन कला, थाङ्का तथा पौभा कलालगायत विभिन्न किसिमका ६९५ कलाकृति राखिएको छ । यसैबिच कलाकार रवीन्द्र श्रेष्ठलाई विगत झैँ यस पटक पनि केही नयाँ ढङ्गको केही नयाँ कुरा गरुँ भनेर जोस चल्यो । 

कलाकार श्रेष्ठ फरक किसिमको अभिव्यक्तिका कारण सधैँ चर्चामा रहनुहुन्छ । यस पटक उहाँले खोला तर्ने डुङ्गालाई नै ‘डुङ्गा चिया घर’ शीर्षक दिई प्रदर्शनीमा राख्नुभएको छ । उहाँ भन्नुहुन्छ, “कलालाई क्यानभासमा मात्र सीमित नगरी भावना आदानप्रदानको माध्यम बनाउन सक्नु पनि कला हो, त्यसैले मैले यो पटक डुङ्गालाई कलाका रूपमा ल्याएको छु ।” दुई वर्षअघि म्यान्मारमा युद्धमा मारिएका मृतकलाई श्रद्धाञ्जली दिन रवीन्द्रले डुङ्गामार्फत कला पस्किने सोच बनाउनुभयो । धेरै ठाउँमा डुङ्गा खोज्नुभयो तर भेट्नुभएन । अन्ततः ललितपुरको धापाखेलस्थित नागदहमा बेवारिसे डुङ्गा भेट्नुभयो र त्यसैलाई नै कला पस्कने ठाउँ बनाउनुभयो ।  

उहाँले भन्नुभयो, “नागदह छेउमा थन्किरहेको डुङ्गालाई ल्याएर मैले प्रतिस्थापन कला (इन्स्टलेसन आर्ट) गरेको हुँ ।” डुङ्गा चिया घर अहिले प्रदर्शनी अवलोकन गर्न आउनेहरूका लागि गफगाफ गर्ने थलो बनेको छ । उहाँले कलामा डुङ्गाको माध्यमबाट साहित्य, कला र सङ्गीतलाई एकै ठाउँमा सम्मिश्रण गर्न खोजेका देखिन्छ । “यो अन्तर्राष्ट्रिय कला मात्रै नभई आर्टिस्टिक ठाउँ पनि हो । इन्डोर ग्यालरी र आउटडोर फ्युजनका रूपमा यो इन्स्टलेसन आर्टलाई प्रस्तुत गर्न खोजेका छु,” रवीन्द्रले भन्नुभयो । 

‘इन्डोर ग्यालरीमा पढ्न, चिया खान र गितार बजाउन व्यक्तिगत कुराकानीसमेत गर्न पाइन्छ । साथै बाहिरबाट सार्वजनिक ठाउँमा राखेको पनि देखिन्छ । साथै यो मोबाइल आर्ट पनि हो किनकी यसलाई सार्न पनि मिल्छ ।’ रवीन्द्रले इन्स्टलेसन आर्ट बनाएको यो पहिलो पटक भने होइन । यसअघि पनि रवीन्द्रले म्यान्मारमा प्रजातन्त्रकै लागि मारिएका सयौँ नागरिकप्रति श्रद्धाञ्जली दिन डुङ्गाकै प्रयोग गर्नुभएको थियो । प्रदर्शनी सकिएपछि डुङ्गा धुलिखेलमा लगेर चिया घरको रूपमा सञ्चालन गर्ने रवीन्द्रको योजना छ ।