• १० मंसिर २०८१, सोमबार

अस्ट्रेलियालाई विश्व टेस्ट च्याम्पियनसिप उपाधि

blog

उपाधिसहित अष्ट्रेलिया टोली । तस्बिर : एपी/रासस

काठमाडौं, जेठ २८ गते । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । इङ्गल्यान्डको द ओभलमा सोमबार भएको फाइनलमा भारतलाई दुई सय नौ रनले हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको हो । 

अस्ट्रेलियाले प्रस्तुत गरेको चार सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौँ दिनको पहिलो सेसनमा दुई सय ३४ रनमै समेटिएको हो । भारतका लागि विराट कोहलीले ७८ बलमा सात चौकाको मद्दतमा सर्वाधिक ४९ रन बनाउनुभयो ।

अजिंक्या रहाणेले ४६, कप्तान रोहित शर्माले ४३, चेतेश्वर पुजारले २७, श्रीकर भरतले २३, शुभमन गिलले १८ र मोहम्मद सामीले अविजित १३ रन जोड्नुभयो । चौथो विकेटका लागि कोहली र रहाणेले ८६ रनको साझेदारी गर्नुभएको थियो ।

बलिङमा अस्ट्रेलियाका नाथन लायनले चार विकेट लिनुभयो । स्कट बोल्यान्ड तीन तथा मिचेल स्टार्कले दुई विकेट लिनुभयो । यसअघि अस्ट्रेलियाले चौथो दिनमा दुई सय ७० रनमा आठ विकेट गुमाएर दोस्रो इनिङ समाप्तिको घोषणा गरेपछि भारतले चार सय ४४ रनको लक्ष्य प्राप्त गरेको थियो ।

अस्ट्रेलियाका लागि एलेक्स केरीले एक सय पाँच बलमा आठ चौकाको मद्दतमा अविजित ६६ रन बनाउनुभयो । मिचेल स्टार्क र मार्नुस लाबुसेनले समान ४१/४१ , स्टिभ स्मिथले३४, क्यामरु ग्रिनले २५, ट्रविस हेडले १८ र उस्मान ख्वाजाले १३ रन बनाउनुभयो । सातौँ विकेटका लागि केरी र स्टार्कले ९३ रनको साझेदारी गर्नुभएको थियो । 

बलिङमा भारतका लागि रवीन्द्र जडेजाले तीन विकेट लिनुभयो । मोहम्मद शामी र उमेश यादवले समान दुई विकेट झार्नुभएको थियो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पहिलो इनिङमा सबै विकेट गुमाउँदै चार सय ६९ रन बनाएको थियो । पहिलो इनिङमा दुई सय ९६ रनमै समेटिएपछि भारत एक सय ७३ रनलेपछि परेको थियो । एजेन्सी